धर्म संस्कृति मधेस प्रदेश

सप्तरीको कञ्चनरुपमा रहेको खोत्तरदेवी गुफा संरक्षणको पर्खाइमा

उत्तम आचार्य /
कञ्चनरुप (सप्तरी) , १ वैशाख २०७८ ।
सप्तरी जिल्लामा यस्तो ठाउँ छ त्यो ठाउँको नाम र चढाउने चीज सुन्दा तपाई हामीलाई अचम्म लाग्न सक्छ । तर यथार्थ रुपमा भन्नु पर्दा जिल्लाको कञ्चनरुप –११ बक्साहा देखि २ किलो मिटर उत्तरमा चुरे पर्वतको खोचमा खोत्तरदेवी गुफा रहेको छ । जहाँ बिरालो चढाइन्छ र बलि दिइदैन् । देवीलाई बिरालो चढाउने कुरा सुन्दा सबैलाई अच्चम लाग्न सक्छ तर यथार्थ हो ।
खोत्तरदेवीको उत्पत्ति सृष्टि कुन युगबाट सुरु भएको हो भन्ने कुरा कसैलाई थाहाँ छैन् । यस गुफामा जाँदा अनौठो यात्राको अनुभव हुन्छ र मन प्रशन्न भई आनन्द आउँने गर्दछ ।
संसारमा बिरालो मात्र चढाउने मन्दिर बिरलै रुपमा देखिन्छ तर त्यो सप्तरी जिल्लामा छ तर पनि हामी त्यस गुफामा गई दर्शन गरिरहेका छैनौं ।
यो शक्ति पिठ चुरे पर्वतको खोचमा रहेको हुँदा यस गुफालाई पहिलो खोंची देवी भन्ने गरिन्थ्यो त्यसपछि खोतरादेवी , खोतरदेवी हँुदै हाल आएर खोत्तरदेवी भन्न थालिएको हो ।

माताको उत्पत्ति स्कन्द पुराणको हिम्मत खण्डमा बताए अनुसार कौशिकी पश्चिमी भागे नाम्ता सुन्दरी बिस्रुता तस्याया भगिनी लोके स्थित खोत्तरदेवी भवानी अर्थात कौशिकी (सप्तकोशी) नदीको पश्चिम भागमा सुन्दरी देवी (सुन्दरी खोला) रहनु हुन्छ । सुन्दरी देवीको बहिनीभवानी पश्चिम चुरेको खोंचमा खोत्तरदेवी भवानी रहनुहुन्छ भन्ने कुरा स्कन्द पुराणको हिम्मत खण्डको श्लोकबाट प्रष्ट हुन्छ ।
खोत्तरदेवी गुफा अनौठो गुफा रहेको र जसलाई स्थानिय भाषामा दुन्दुर समेत भन्ने गरिन्छ र सोही गुफा भित्र खोत्तरदेवी भवानी विराजमान हुनुहुन्छ ।
२५–३० वर्ष पहिले गुफा भित्र सहजै रुपमा पस्न सकिने र २०–३० मिटर भित्र गएपछि तलाउ भेटिन्थ्यो त्यो तलाउबाट गुफा दुई तर्फ लागेको पाइन्थ्यो । एउटा गुफा पूर्व उत्तर दाहिने तर्फको गुफा कौशिकी नदीको तटमा रहेको बराह भगवानको बराह क्षेत्रसम्म पुगेको र पश्चिम उत्तर देब्रे तर्फको गुफा खोटाङ जिल्लाको हलेशी महादेवको गुफासम्म पुगेको धार्मिक ग्रन्थहरुमा पाइन्छ । हाल आएर सो गुफामा पहिरोले पुरिन गई पहिलेको जस्तै गुफा भित्र पस्न सक्ने अवस्था छैन ।
मानव जाती र बस्ती विकास भए सँगै मानिसहरु बिरामी पर्दा तान्त्रिक (धामिझाक्रि) हरुले दैविक शक्तिद्वारा बिरामीलाई झारफुक गर्दा देवीले म यस ठाउँमा छु आफ्नो कल्याण चाहन्छौ भने मेरो भाकल गरेर पूजा गर त्यसपछि तिमीहरुले चिताएको म पुरा गर्ने छु र मेरो नाममा भाकल गर्दा बिरालो भाकल गरेर चढाउनु , परेवा उडाउनु , खिर चढाउनु , लड्डु चढाउनु तर बली नदिनु भनेकाले सोही अनुसार खोत्तरदेवी गुफामा बिरालो भाकल गरी पूजा गरेपछि आफूले चिताएको कुरा पुरा भएको देखेर खोत्तरदेवी गुफामा देवीको अदृश्य शक्ति रहेको र सपनामा लड्डु , बिरालो , भान्टा , परेवा चढाउनु र बली चाही नचढाउनु देवीले भनेको साँचो भएकाले सोही बेला देखि खोत्तरदेवी गुफामा पूजा गर्न थालिएको सो गुफाका तेस्रो पुस्ताका पूजारी हर्खु धामी बताउनु हुन्छ ।
खेत्तरदेवी गुफामा भगवान शिवले तपस्या गरिरहेको अवस्थामा भष्मासुर भन्ने राक्षसले प्राप्त गरेको सबैलाई भष्म गर्न सक्ने बर परीक्षण गर्दाको रोचक प्रसङ्ग सँग जोडिएको छ । सत्ययुगमा भष्म्मासुरले गरेको तपस्याबाट प्रशन्न भएर भगवान शिवले भष्मसुरलाई जसको शरीमाथि हात राख्यो उसको भष्म हुने बर दिएका थिए । त्यसपछि भष्मासुरले आफ्नो सो बरदानको परीक्षण गर्न शिव भगवानकै शिरमाथि हात राख्न खोज्दा शिवजी तपस्या छोडेर उक्त खोत्तरदेवी गुफाबाट भागेका थिए । तपस्या छोडेर भाग्ने क्रममा शिव (महादेव) खोत्तरदेवी गुफाको पश्चिम उत्तर देब्रे पट्टीको गुफाबाट सुन्दरी खोलाको बाटोबाट उदयपुरको छामलिङ्ग कोशी हँुदै खोटाङको हलेशीमा पुगेर पुनः गुफामा तपस्या आरम्भ गरेको धार्मिक विश्वास रहेदेखि खोत्तरदेवी गुफाको हलेशी महादेव सँग प्रत्यक्ष सम्बन्ध रहेको ऐतिहासिक पक्षले गर्दा पनि खोत्तरदेवीको महिमा बढेर गएको पाइन्छ ।
खेत्तरदेवी गुफा परिसरमा कहिल्यै नसुक्ने अजम्बरी दह , भिमसेन थान रहेको र यस ठाउँमा मेला समेत लाग्ने गर्नाले पनि यस गुफाको महत्व बढेर गएको हो ।
अजम्बरी दह
खोत्तरदेवी गुफाकै फेदिमै कहिल्यै नसुक्ने अजम्बरी दह छ । सो दहमा शुद्ध आत्माले लुगा सहित नुहाउने र नुहाउँदा लगाएको लुगा त्यही दहमा चढाउने र नयाँ लुगा लगाए। पूजा गरेमा चर्म रोग निको हुने , सन्तान नभएकालाई सन्तान प्राप्ति हुने , विवाह नभएकाको विवाह समेत हुने र आफूले चिताएको पुरा हुने धार्मिक विश्वास रहेको पाइन्छ ।

भिमसेन थान
खोतरदेवी गुफा देखि करिब २ सय मिटर पूर्वमा भिमसेन थान रहेको छ । यस थानमा बली दिने गरिन्छ । पाँच पाण्डवहरु १२ वर्ष वनबास बसी १ वर्ष गुप्तबास बस्न विराट राजाको राजधानी विराटनगर जाने क्रममा भिमसेन थान भएको ठाउँमा बास बसी खोत्तरदेवी भवानीको पूजा आरधना गरी गुप्त बास बस्न विराटनगर तर्फ गए देखि भिमसेन थानमा बली दिन थालेको र खोत्तर देवीको महत्व बढेर गएको धार्मिक इतिहासमा पाइन्छ ।

प्राचिन कालमा कंचनपुर , भोडाहा , बदगामा , बरमझिया , रुपनगर , बक्साहा , भुवनपट्टी , रतवाला , महुली , गोरपार , जण्डोल गरी ११ गाउँ अथवा ११ मौजाबाट एक एक वटा बोका गरी ११ वटा बोका वैशाख १ गते मेला लाग्ने दिन अनिवार्य रुपमा भिमसेन थानमा बली चढाउन सुरु कालदेखि थालनि गरिएको देखिनुले समेत यस ठाउँको महिमा बढेर गएको हो ।
मेला
खोत्तरदेवी भवानीको सबै दिन पूजा गरीन्छ तर पनि वैशाख १ गते विशेष महत्वको दिन रहेको छ । नयाँ वर्षको सुरुको दिन खोत्तरदेवीको पूजा आरधना गर्दा आफूले चिताएको पुग्ने धार्मिक विश्वास रहेको पाइन्छ । यस दिन यस ठाउँमा भव्य रुपमा मेला समेत लाग्ने गर्दछ । मेलामा सप्तरी , सिरहा , उदयपुर , सुन्सरी र छिमेकि देश भारतको बिहार बाट हजारौंको संख्यामा भक्तजनहरु आई देवीको दर्शन गरी पूजा आरधना गरी आशिर्वाद लिने गर्दछन् र मेलामा रमाउने समेत गर्दछन् ।
मेलाको दिन भिमसेन थानमा ३ सय थान जति बली चढ्ने गरेको पाइन्छ ।

अन्त्यमा नेपाल अर्थतन्त्रको हिसाबले विश्व मानचित्रमा तुलनात्मक रुपमा गरिब भएपनि यहाँको भौगोलिक विविधताको साथै मनोरम प्राकृतिक सम्पदा र ऐतिहासिक महत्व बोकेको कयौं धरोहरहरुले भरिपूर्ण भई धनी रहेको छ । यिनै सम्पदाका आधारमा नेपालको विकासमा प्रसस्तै सम्भावनाहरु आकंलन गर्ने गरिएको छ । तर आफै भित्र रहेको प्रचुर सम्भावनाहरुलाई पहिचान गर्न नसक्दा नेपाल र नेपालीहरु सधैं भरी पछाडी पर्नु नियतिनै बनिसकेको छ । हजारौं धरोहर मध्ये एक धरोहर खोत्तरदेवी गुफा पनि हो । उचित संरक्षण , सम्बद्धन एवम् प्रचारप्रसारको कमिले गर्दा नेपाललाई अन्तराष्ट्रिय रुपमा चिनाउने पर्यटन विकासका महत्वपूण धरोहरहरु दिनानुदिन ओझेलमा पर्दै गएका छन् । यसरी ऐतिहासिक महत्व बोकेको भएपनि कसैको नजर पुग्न नसेको धरोहर मध्येको एक हो खोत्तरदेवी गुफा ।
यस ठाउँमा शिव लिङ्ग र खोत्तरदेवी भवानीको दर्शन गर्ने गरेका छन् । तर यसको महत्वलाई सम्झेर दर्शन गर्न आउने जिम्मेवार ओहदाका व्यक्तिहरुले समेत उही वर्षको एक दिन बाहेक अरु दिन सम्झन र यसको विकास तथा व्यवस्थापनको विषयमा सोच्न नसक्दा यो गुफा ओझेलमा पर्न गएको छ ।
नेपालको अमूल्य निधिको रुपमा रहेका खोत्तरदेवी गुफाको असिम ऐतिहासिक महत्वको बाबजुद यसलाई सम्बन्धित पक्षले कुनै वास्ता नगर्दा कतै गुफाको अस्तित्व नै गुम्ने त होइन भन्ने चिन्ताले ग्रसित भएको स्थानिय दिलिप रेग्मी बताउँछन् ।
यस विषयमा राज्यको स्थानिय तह देखि केन्द्रिय निकायले सिघ्र ध्यान दिनुपर्ने स्थानियबासीहरुको माग रहेको छ ।
खोत्तरदेवी गुफा जस्ता धार्मिक एवम् ऐतिहासिक सम्पदाको संरक्षण , सम्बद्धन र प्रचारप्रसार गर्न सके ग्रामिण पर्यटनको विकास भई मुलुकको अर्थतन्त्रमा समेत उल्लेख्य टेवा पुग्न जाने सरोकारवालाहरुको भनाई रहेको छ ।

Add Comment

Click here to post a comment

You cannot copy content of this page