साहित्य / लेख रचना

भोजराज रेग्मी (मुखाले) को कविता – “अलच्छिनको इपीसेन्टर”

दुर्ब्यसनी लोग्नेको
निरन्तर निर्घात यातनापछि
घरबाट भागेर माइत आएकी चेलीझैँ
घाम पनि रुँदै रुँदै झुल्कन्छ ।

मनमाफिक दाइजो तिलक नपाएको निहुँमा
मुखमा तेजाव खन्याइएकी अबला बुहारीझैँ
जून पनि रातभरी कहालिइरहन्छ ।

निर्धा ताराहरूको त के कुरा गर्नु !
चुनावपछिका निमुखा मतदाताहरूझैँ
छातीमा मुड्की ठोकेर
टाढाबाटै टुलुटुलु हेरिरहन्छ्न् बरा !!

कुखुराको भाले पनि अचेलवली
एकजुवा घामसम्म मस्तै सुतेर
ओथारो बसेकी पोथीसँग
दिनभरी निहुँ खोज्छ ।

जाबो विषाणुसँग लाप्पा खेल्दा खेल्दा
लखतरान परेको बहादुर विज्ञान
खोपको लौरो टेकेर
शोकगीत गाइरहेछ ।

घैँटामा घाम लाग्ला कि भनेर कुर्दाकुर्दै
तीन पुस्ता बाटो लागे
घैँटो फुटेर ऐले, पोल छ्ताछुल्ल छ ।
एक सिलिण्डर अक्सिजनमा
आफ्नो एक थान फोक्सो साटेर मधौरु
आगामी दशैँको “आयुद्रोणसुते !” सम्झेर प्रफुल्ल छ ।

बाँच्नु मात्रै पर्छ
खुट्टा तान्ने र मार हान्नेको हानाथाप भोग्न पाइन्छ
मर्नु मात्रै पर्छ
तिनैले चढाएका श्रद्धाञ्जली र
फूलमाला बोक्न पाइन्छ ।

अरुका उलामालामा लागेर होला
कोटेरो र जुरेलीहरू अचेल
रिकुटे ईन्जीनियरसँग ट्युसन पढ्न थालेका छ्न्
चित्त नबुझेर कोइली कराएको कराएकै छ ।

अगोचर मदारीहरूको डमरुको तालमा
स्मार्ट बाँदरहरू
रामशाहको दरबारमा उपद्रो मचाइरहेका छ्न्
न्यायको तराजु
पीपलको पातझैँ हल्लिरहेकै छ ।

आमाको कलेजो काटेर
आफ्नो दुनो सोझ्याउनेहरू
स्वास्नीको सिउँदो बेचेर
आफ्नो सुट सिलाउनेहरू
तालुखुइलेहरूलाई काँइयो बेचेर
मालामाल गरिरहेछ्न्
भोकानाङ्गाहरूलाई भिरङ्गी धर्म घोकाएर
सुखशान्तीको प्रमाण-पत्र बाँडिरहेछ्न् ।
धेरैको सापटी र उधारो खाएर
आमाकसम ! भन्दै म्याद मागिरहेछ
लबस्तरो लोकतन्त्र
हिँड्दा हिँड्दै दिशाभ्रम भएर
बाटो बिराएको बटुवाझैँ अलपत्र परेको छ –
गोज्याङ्ग्रो गणतन्त्र ।
सिंहदरबारलाई सराप्दा सराप्दै थाकेर निदाएको
घोइरे बुद्धिजीवी
सपनामा तक्मा लाउँछ ,
पद र पुरस्कार पड्काउँछ
अनि भाग्यप्रती गौरव गर्दै गुड्डी हाँक्छ
झल्याँस्स ब्युँझन्छ र मिडियामा मुर्मुरिन्छ
” धोखेवाज मूर्दावाद !”
– भोजराज रेग्मी मुखाले
कञ्चनरुप १२ ,रुपनगर (सप्तरी)

Add Comment

Click here to post a comment

You cannot copy content of this page