शिक्षा

कञ्चनरुपका सम्पूर्ण विद्यालयहरु शनिवार पनि सञ्चालन हुने , दशैं बिदा फूलपातीबाट

उत्सव आचार्य /
कञ्चनरुप , ७ असोज ।
सप्तरीको कञ्चनरुप नगरपालिका शिक्षा शाखाद्वारा बिहीवार आयोजित नगरपालिकाको सभाहलमा बसेको प्रधानाध्यापकहरुको बैठक बसी महत्वपूर्ण निर्णयहरु गरेको छ ।
नगर भित्र अब उप्रान्त बिदाको दिन पनि विद्यालय सञ्चालन गर्ने , विद्यालय प्रत्येक दिन बिहान ९ बजे देखि सञ्चालन गर्ने तथा दशैं बिदा फूलपातीबाट गर्ने निर्णय गरेको र कोभिड १९ का कारण विद्यार्थीहरुको पढाइलाई मध्यनजर गर्दै शनिवारको दिन पनि कञ्चनरुपका सम्पूर्ण विद्यालयहरु सञ्चालन गर्ने निर्णय भएको शिक्षा शाखाका ललित नारायण यादवले बताउनु भयो ।
त्यसैगरी प्रथम चौमासिक माग फारम २०७८ साल असोज १२ गते भित्र पेश गर्ने , विद्यालयमा निरन्तर रुपमा दिवा खाजा सञ्चालन गर्ने, २०७८ साल कात्तिक १० गते भित्र सम्पूर्ण सामुदायिक विद्यालयहरुमा अनिवार्य विद्यालय व्यवस्थापन समिति गठन गर्ने जस्ता महत्त्वपूर्ण निर्णय भएको यादवले बताउनुभयो ।

साथै असोज २२ र २३ गते आधारभूत तथा माध्यमिक विद्यालय स्तरीय गीत तथा नृत्य प्रतियोगिता गर्ने, साथै यसै वर्ष कात्तिकमा मेयरकप र राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गराउने, अतिरिक्त क्रियाकलापका लागि खेल सामग्री फुटबल, भलिवल, व्याटमिन्टन, लुडो, स्किपिङ्ग, चेस आदिका साथै विभिन्न विद्यालयहरुमा शिक्षा सामग्री समेत उपलब्ध गराउने । जस्तै कम्प्युटर, प्रिन्टर, बालविकासमा एलइडि आदि उपलब्ध गराउने जस्ता निर्णय समेत भएको शिक्षा शाखाले जनाएको छ ।

नगर प्रमुख बसन्त कुमार मिश्रले कोभीड १९ का कारण शिक्षा क्षेत्रमा नराम्रो असर परेको हुँदा अब विद्यार्थीको भविष्यलाई राम्रो बनाउन गुणस्तरिय शिक्षा प्रदान गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले शिक्षा बिना मानिसको जीवन अन्धकारमा धकेलिने भएकाले शिक्षाको बिकासमा सबै एक जुट भएर लाग्नुपर्ने बताउनु भयो ।
नगर प्रमुख बसन्त कुमार मिश्रको प्रमुख आतिथ्यमा बसेको बैठक शिक्षा अधिकृत प्रेम कुमार चौधरीले अध्यक्षता गर्नुभएको थियो ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page