राजनीति

सप्तरीमा २ सय ४६ जनाले बुझाए निर्वाचनको खर्च विवरण, १ हजार बढीले स्पष्टिकरण

सप्तरी, ८ भदौ । सप्तरीमा २ सय ४६ जनाले निर्वाचन खर्च विवरण बुझाएका छन् भने १ हजार बढीले स्पष्टिकरण बुझाएका छन् ।
कानुनले तोकेको समयावधिमा २ सय ४६ जनाले मात्र निर्वाचन खर्च विवरण बुझाएकोमा स्पष्टिकरण बुझाउने अन्तिम दिन मंगलबार मात्र १ हजार ५९ जनाले स्पष्टिकरण बुझाएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
एक साताको समय दिंदा १ हजार ३ सय ६६ जनाले स्पष्टिकरण बुझाएको जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले बताउनु भयो । एक सातामा अन्तिम दिन मात्र १ हजार ५९ जनाले स्पष्टिकरण बुझाएका छन् ।
खर्च विवरण नबुझाउने र ढिलो बुझाउनेलाई निर्वाचन आयोगले साउन ३१ गते एक साताको समय दिएर स्पष्टिकरणसहितको प्रेस विज्ञप्ति जारी गरेपछि जिल्ला निर्वाचन कार्यालयले भदौ १ गते उम्मेदवारहरुसँग स्पष्टिकरण सोधेको थियो ।
निर्वाचन आयोग ऐन र स्थानीय तह निर्वाचन ऐनमा निर्वाचनको परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्च विवरण बुझाउन समय तोकिएको छ । निर्धारित समयमा सप्तरीमा २ सय ४६ जना र साउन मसान्तसम्ममा ४ सय ८४ जनाले खर्च विवरण बुझाएका थिए ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा सप्तरी जिल्लामा कुल ८ सय ५६ पदका लागि ५ हजार ५३५ जनाले प्रतिस्पर्धा गरेका थिए । निर्वाचित ८ सय ५६ जनप्रतिनिधीमध्ये १ सय ६८ जनाले र निर्वाचित नभएका ३ सय १६ जना उम्मेदवारले मात्र खर्च विवरण बुझाएका थिए । खर्च विवरण बुझाउनेमा १४३ जना महिला उम्मेदवार छन् ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page