राजनीति

एमाले पोलिटब्युरो बैठक सम्पन्न , केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत हुने एजेण्डा पारित

काठमाडौँ । नेकपा (एमाले) पोलिटव्यूरोको दोस्रो बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार पार्टी कार्यालय च्यासल, ललितपुरमा सम्पन्न भएको छ । बैठक वर्तमान राष्ट्रिय राजनीतिका विषयमा गहन छलफल गर्दै सम्पन्न भएको हो ।
अध्यक्ष केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्दै राजनीतिक प्रतिवेदनमा उल्लेख भएका राष्ट्रिय राजनीति तथा अन्तर्राष्ट्रिय परिस्थिति र आगामी आम निर्वाचनका विषयमा प्रकाश पार्नुभएको थियो । भोलि बस्ने केन्द्रीय कमिटीको बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ । बैठकले केन्द्रीय कमिटीमा प्रस्तुत हुने विषयहरू तय गरेको छ ।
बैठकमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनौट गर्ने प्रक्रिया र मापदण्डका बारेमा छलफल भएको थियो ।
बैठकमा पोलिटव्यूरो सदस्यहरु खिमलाल भट्टराई, सुमनराज प्याकुरेल, लिलाबहादुर थापा, रामदयाल मण्डल, निरु पाल, शान्ता चौधरी, कर्ण थापा, जितु गौतम, मञ्जु चौधरी, लालबाबु पण्डित, काशीनाथ अधिकारी, खगराज अधिकारी, बिन्दा पाण्डे, अग्नि खरेल र कृष्ण राईले राजनीतिक प्रतिवेदनमा समावेश गर्नका लागि आ– आफ्ना सुझाव राख्नुभएको थियो ।
बैठकले पार्टीको सचिवालयबाट गरिएका निर्णयहरू अनुमोदन गरेको छ । केन्द्रीय कमिटीको बैठक भोलि भदौ १० गते पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा ११ बजे बस्ने निर्णय भएको छ ।
शुक्रबारबाट सुरु हुने बैठकले ४ नयाँ केन्द्रीय सदस्यहरुको शपथ र जिम्मेवारी बाँडफाँट, उम्मेदवारको छनौैट मापदण्ड पारित गर्नेछ । त्यस्तै स्थानीय तह चुनावका छानबिन समितिको कार्यदलको रिपोर्ट पेस कार्यसूची पनि छ ।
पार्टी सदस्यता नम्बर दोहोरो तेहेरो परेकाको हकमा विशेष निर्णय हुने पनि जानकारी दिए । त्यस्तै कन्द्रीय सल्लाहकार परिषद्को रिपोर्ट, भारत प्रवास कमिटीको नियमावली पनि पेस हुनेछ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page