धर्म संस्कृति

राजविराजमा हरितालिका तीजको अवसरमा प्रतियोगितात्मक तीज गीत र नृत्य प्रतियोगिताको आयोजना

राजविराज, १४ भदौ । सप्तरीको सदरमुकाम राजविराजमा हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा आज नेपाली हिन्दू महिलाहरूले गीत÷नृत्य प्रतियोगिता गरेर मनाएका छन् ।
“असल संस्कृतिको मूल्य, मान्यता र मौलिकताको संरक्षण एवम् सम्बद्र्धन गरौं” नाराका साथ राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिरको प्राङ्गणमा भव्यतापूर्वक प्रतियोगितात्मक तीज गीत÷नृत्य कार्यक्रम सम्पन्न भएको हो ।
मन्दिर प्राङ्गणमा विहानैदेखि पूजाआजा गर्ने र प्रतियोगितामा भाग लिने महिलाहरूको भीड लागेको थियो ।
तीज महोत्सव मूल समारोह समितिद्वारा आयोजित प्रतियोगितामा निराहार ब्रत बसेका महिलाहरूले दिनभरी नाचगान गर्दै सहभागिता जनाए ।

समितिका संयोजक अनीता देवकोटाको अध्यक्षता एवम् राजविराज नगरपालिकाका कायममुकायम नगर प्रमुख इसरत परविनको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितात्मक गीत÷नृत्य कार्यक्रममा उल्लेख्य महिलाहरूले रमाइलोका साथ तीज पर्व मनाए ।
समितिका कोषाध्यक्ष पुनम पोखरेलद्वारा सञ्चालन एवम् स्वागत पश्चात सुरु भएको प्रतियोगितात्मक कार्यक्रममा समूहतर्फ दुर्गा थापा, बिनिता र पुजन न्यौपानेको समूहले प्रथम स्थान हासिल गरेको छ ।
यसैगरी निशा यादव र अञ्जली यादवको समूह द्वितिय, मनिता खडका र सोनिका गुरुङको समूह तृतिय हुनु भएको छ भने मञ्जु श्रेष्ठ, सुशिला श्रेष्ठ र अनार श्रेष्ठको समूहले सान्तवना स्थान हासिल गर्नुभएको छ । एकल नृत्यतर्फ मान्सी पोखरेल सर्वोत्कृष्ठ भएकी छिन् ।

विजेता समुहलाई कामु नगर प्रमुख परविनले पुरस्कार र तीजको चिनो वितरण गर्नुभयो । प्रतियोगितामा सहभागी सबैभन्दा सानी नृत्याङ्गना श्रृष्टिका बञ्जारालाई बिशेष उपहार प्रदान गरियो ।
सप्तरीको राजविराजमा दुई दशकदेखि वर्षेनी महिलाहरूले भव्यतापूर्वक तीज महोत्सव गर्दै आएका छन् । समितिले हिजो राजविराजस्थित कारागारमा रहेका कैदीबन्दीहरूलाई दरस्वरूप मिठाइ खुवाउँदै श्रृँगारका समान वितरण गरेर तीज मनाएका थिए ।
सप्तरी राजविराजको हरिनन्देश्वर महादेव मन्दिर, शम्भुनाथ मन्दिर, बलुवाको भजनेश्वरनाथ मन्दिर, लालापट्टीको लालेश्वरनाथ मन्दिरलगायत सप्तरीको विभिन्न शिव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थी महिलाको घुइचो लागेको छ । कञ्चनरूप, सप्तकोशी, सुरुङ्गालगायतका स्थानमा महिला समूहहरू संगठित भएर आज प्रतियोगितात्मक गीत÷नृत्य गरेर तीज कार्यक्रम मनाइरहेका छन् ।

हिन्दु नारीको महान् धार्मिक पर्वका रूपमा लिइने हरितालिका ब्रतमा पतिको लामो आयुको कामना गरी निराहार ब्रत बसेर रातभरि आफ्नो अटल सौभाग्यको प्रतीकस्वप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्णपात्र गरेर ब्रत तोड्ने परम्परा छ ।
परापूर्वकालदेखि आफ्नो सम्पूर्ण आस्था र विश्वासका साथ हिन्दु नारी निराहार र निर्जल बसी आजका दिन भगवान् शिवको पूजा अचर्नासहित हरितालिका तीजको ब्रत बस्छन् ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page