राजनीति

म्यादी प्रहरीको लागि १ लाख १५ हजार माग, भदौ ३० देखि असोज ६ गतेसम्म दरखास्त दिन सकिने

आसन्न निर्वाचनका लागि नेपाल प्रहरीले सङ्घ र प्रदेश निर्वाचनको सुरक्षार्थ म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । 
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको लागि प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख पन्ध्र हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो ।
इच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिन समेत दरखास्त बुझाउन सक्नेछन् । दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ । दरखास्त दिनका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका हुनुपर्नेछ । 
म्यादी प्रहरी छनोटमा स्थानीय तह वा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन २०७४ वा स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्तिहरू विभिन्न पदमा २०७९ साल भदौ महिनासम्म भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेश पत्रको प्रतिलिपि पेश गर्ने व्यक्तिहरू र विदेशी मित्र राष्ट्रका सुरक्षा निकायहरूमा काम गरी सेवा निवृत्त नेपाली नागरिकलाई प्राथमिकता दिइने प्रहरीले जनाएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page