समाचार

सप्तरीमा निर्वाचनका दिन सवारी आवागमन बन्द हुने,कुन कुन सवारी साधन सञ्चालन गर्न पाउने हेर्नुहोस्

कञ्चनरुप (सप्तरी), १ मंसिर । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन सप्तरीमा निजी तथा सार्वजनिक सवारी साधन आवागमन बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले बिहीबार एक सूचना जारी गर्दै निर्वाचनका दिन अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालन नगर्न नगराउन अनुरोध गरेको हो ।
निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्ने सन्दर्भमा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीद्धारा जारी सूचनामा अत्यावश्यक सेवा र अनुमति प्राप्त बाहेकका सम्पूर्ण निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन नगर्न नगराउन अनुरोध गरिएको छ ।
कुन कुन सवारी साधन सञ्चालन गर्न पाउने
» अनुमति पत्र लिन नपर्ने सवारी साधनः
१. बिरामी बोकेको एम्बुलेन्स, खानेपानीको ट्यांकर, दुध बोक्ने सवारी साधन, दमकल, शव वाहन, दुरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन ।
२. सुचना तथा प्रसारण विभाग वा प्रदेश संचार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको संचार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानून बमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई संचालनमा रहेका सम्बन्धी संचार गृहबाट जारी परिचय पत्र वाहक सञ्चारकर्मी प्रयोग गर्ने सवारी साधन ।
३. अस्पतालमा कार्यरत परिचय पत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन ।
४. निर्वाचन आयोगबाट जारी परिचय पत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन ।
५. फोहोरमैला ओसार पसार गर्ने सवारी साधन, तरकारी, फलफूल तथा विद्युत सेवाका लागि प्रयोग हुने सवारी साधन ।
६. कुटनीतिक नियोग, युएन उज्जेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरुमा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारी साधन ।
७. विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधन, सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारी साधन ।
८. आफू खटेको मतदान केन्द्र सम्म जान मतदान केन्द्रबाट फर्कनका लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयमसेवकले प्रयोग गर्ने सवारी साधन ।
नोटः यस्ता सवारी साधन मतदाता ओसार पसार गर्ने कामको लागि प्रयोग गर्न पाइने छैन्‌ ।
» मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयबाट अनुमति लिनुपर्ने सवारी साधन ः
१. उम्मेदवार वा उम्मेदवारको एक जना निर्वाचन प्रतिनिधिले प्रयोग गर्ने एउटा सवारी साधन ।
२. मापदण्डको बुँदा नं. ६ बमोजिम अशक्तताको कारणले आफै हिड्डुल गर्न नसक्ने क र ख वर्गका परिचय पत्र प्राप्त व्यक्तिका लागि आवश्यक सवारी ।
» जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने सवारी साधनहरु ः
१. नेपाल नागरिक उड्डयन प्राधिकरण वा उडानसँग सम्बन्धित वायु सेवा कम्पनीले प्रयोग गर्ने सवारी साधनहरु (नागरिक उड्डयन प्राधिकरणको सिफारिसमा)
२. निर्वाचन आयोग वाहेक संबैधानिक निकायहरु तथा संबैधानिक निकायको प्रादेशिक एवं जिल्ला स्थित कार्यालयहरुले प्रयोग गर्ने सवारी साधन (सम्बन्धित संबैधानिक निकायका कार्यालयको सिफारिसमा)
३. कुटनीतिक नियोग वा संयुक्त राष्ट्र संघका एजेन्सी वा विकास साझेदार संस्थाका नियमित कार्यालय प्रयोजनमा प्रयोग गरिने निलो कित नम्बर प्लेट वाहेकका सवारी साधन (परराष्ट्र मन्त्रालयको सिफारिसमा) ।
नोटः विदेशी नम्बर प्लेट भएका सवारी साधनलाई यस कार्यालयबाट अनुमति दिइने छैन्‌।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page