समाचार • समाज

सप्तरीमा खाल्डोको पानीमा डुबेर ६ वर्षीय बालकको मृत्यु

कञ्चनरूप, ३० असोज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७, वभनगामामा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय रविन्द्र यादवका ६ वर्षीय छोरा श्रवण कुमार यादव भनिने भैरव रहेका छन्। बिहीबार बिहान घरनजिकै सडक छेउमा रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो।

स्थानीयका अनुसार बालक खाल्डोको छेउमा एक्लै खेलिरहेका बेला अचानक पानीमा खसेका थिए। केही समयपछि बालक नदेखिएपछि उनकी आमाले खोजी गर्ने क्रममा खाल्डोको पानीमा डुबेको अवस्थामा फेला पारेकी थिइन्।

घटनालगत्तै स्थानीयले एम्बुलेन्स बोलाएर बालकलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज पुर्‍याएका थिए। तर, अस्पताल पुग्नुअघि नै बालकको मृत्यु भइसकेको अस्पतालले जनाएको छ।

घटनाको खबर पाएपछि प्रहरी चौकी को.वर्साइनबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल पठाएको जनाएको छ।

बालकको असामयिक निधनपछि परिवार शोकमा डुबेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

You cannot copy content of this page