कञ्चनरूप, ३१ असोज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही टोलमा जग्गाको सिमानाको विषयलाई लिएर भएको विवादका क्रममा धकेल्दा एक वृद्धको मृत्यु भएको छ।
शनिबार बिहान करिब ९ बजे स्थानीय २७ वर्षीय रघुनन्दन राय र ७५ वर्षीय तेतर रायबीच जग्गाको सिमानालाई लिएर विवाद भएको थियो। विवादका क्रममा रघुनन्दनले तेतरलाई धकेलेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनाबारे स्थानीयले जानकारी गराएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थल सुरक्षित राख्दै घटनाबारे अनुसन्धान अघि बढाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रघुनन्दन रायलाई नियन्त्रणमा लिएको छ। मृतक तेतर राय यसअघि नै मुटुसम्बन्धी रोगबाट पीडित रहेको बताइएको छ।
घटनाको वास्तविक कारण तथा मृत्युको परिस्थितिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।












