समाचार समाज

सप्तरी प्रहरीद्वारा विभिन्न मुद्दाका फरार १६ जना प्रतिवादी पक्राउ

कञ्चनरूप । सप्तरीमा अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका १६ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले फैसला कार्यान्वयनको सिलसिलामा सप्तरी जिल्ला अदालत राजविराजबाट विभिन्न मितिमा कैद तथा जरिवाना तोकिएका फरार प्रतिवादीलाई खोजतलास गरी पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बलान–बिहुल गाउँपालिका–५ का मिथुन भन्ने चन्द्रकान्त यादव रहेका छन्। उनलाई नकबजनी चोरी मुद्दामा ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो। सोही ठाउँका मुकेश कुमार यादवलाई सवारी ज्यान मुद्दामा २ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

त्यस्तै डाक्नेश्वरी नगरपालिका–४ का विनोद कुमार यादवलाई कुटपिट मुद्दामा ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ।

कुटपिट मुद्दामै बलान–बिहुल गाउँपालिका–५ का संजीव कुमार यादव, राजकुमार यादव, रामचन्द्र यादव, विन्देश्वर यादव, भूपनारायण यादव, अशोक कुमार यादव, शिवराम यादव, प्रदीप यादव, चन्देश्वर यादव, अजित कुमार यादव र देवनारायण यादवलाई जनही ३ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

त्यसैगरी डाक्नेश्वरी नगरपालिका–३ का आरतीदेवी मुखिया र सुन्दर लाल मुखियालाई कुटपिट मुद्दामा जनही ५ सय रुपैयाँ जरिवाना तोकिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबै १६ जनाबाट अदालतको फैसला बमोजिम कुल ४६ हजार रुपैयाँ जरिवाना असुल हुने भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

   

You cannot copy content of this page