कञ्चनरूप, १ भदौ । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार एक जना घाइते भएका छन्।
सोमबार साँझ करिब ५ः२० बजे हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेज पुलको ४१ नम्बर ढोकानजिक को.६ प ६०२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक हनुमाननगर कंकालिनी नगरपालिका–१, भलवा निवासी अन्दाजी ३५ वर्षीय ओम साफी र पछाडि सवार सोही स्थानका २० वर्षीय मंजय साफी घाइते भएका थिए।
दुवै घाइतेलाई उपचारका लागि भारदह अस्पताल लगिएकोमा चालक ओम साफीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। पछाडि सवार मंजय साफीलाई थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ। उनको उपचार भइरहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















