बारा । सिमरामा मृत अवस्थामा फेला परेकी तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले बालिकालाई चकलेटको प्रलोभन देखाएर फकाई घटनास्थलमा लगिएको र जबर्जस्ती करणीपछि हत्या गरिएको जनाएको छ।
मंगलबार साँझ करिब ५ः४५ बजे जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठामा नाम, थर र वतन नखुलेकी बालिका मृत अवस्थामा फेला परेकी थिइन्।
घटनाबारे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सिमराबाट डीएसपी दिलीप क्षेत्रीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय बाराबाट एसपी नरेन्द्र कुँवरको कमाण्डमा समेत थप प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका क्रममा प्रदेश प्रहरी कार्यालय वीरगन्जबाट तालिमप्राप्त कुकुरसहितको टोलीसमेत परिचालन गरिएको थियो। अनुसन्धानपछि मृतक बालिका जितपुरसिमरा–१ दसधुरी बस्ने मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी रहेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गरिमा साउन ३१ गते बिहान करिब ८ः३० बजे घरबाट हराएकी थिइन्। अनुसन्धानका क्रममा ना.१ ज ७७५८ नम्बरको म्याजिकका सहचालक जितपुरसिमरा–२ बस्ने करिब १६ वर्षीय सुमन थापाले बालिकालाई चकलेटको प्रलोभन देखाएर फकाईफुल्याई घटनास्थलमा लगेको खुलेको छ। त्यहाँ बालिकामाथि जबर्जस्ती करणी गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सुमन थापा र म्याजिकका धनी जितपुरसिमरा–१ निवासी २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। बालिकाको शव पोस्टमार्टम तथा थप कानुनी प्रक्रियाका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

















