समाचार समाज

सप्तरीमा बहुविवाह मुद्दाका फरार प्रतिवादी पासवान पक्राउ

कञ्चनरूप, ३ भदौ । सप्तरी प्रहरीले बहुविवाह मुद्दामा अदालतबाट कैद तथा जरिवाना तोकिएपछि फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार इलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा खडक नगरपालिका–७ निवासी भूपेन्द्र पासवानलाई पक्राउ गरेको हो।

पासवानविरुद्ध सप्तरी जिल्ला अदालत, राजविराजबाट बहुविवाह मुद्दामा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको थियो। अदालतको फैसला कार्यान्वयनका क्रममा वारदातपछि फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका पासवानलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी भदौ ३ गते सप्तरी जिल्ला अदालत, राजविराजमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रहरीले अदालतबाट फैसला भई फरार रहेका अन्य प्रतिवादीहरूको समेत खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।

   

You cannot copy content of this page