समाचार समाज

दाङमा ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई जना घाइते

दाङ, ४ भदौ । दाङको घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बुधबार राति ८ बजे सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा १ त ३७०९ नम्बरको लोड ट्याक्टर र घोराहीबाट बसन्तपुरतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह १९२९ नम्बरको अटो एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा अटोमा सवार तीन जना घाइते भएका थिए। घाइतेमध्ये घोराही उपमहानगरपालिका–५ बसन्तपुर निवासी ४५ वर्षीय अटो चालक विनोद पौडेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको मेडिकल कलेज, कोहलपुर बाँकेमा उपचारका क्रममा बिहीबार बिहान २ः४५ बजे मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका अन्य दुई जनाको अवस्था मध्यम रहेको जनाइएको छ।

प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर र चालक घोराही उपमहानगरपालिका–१७ भैसाही निवासी २३ वर्षीय हिमाल चौधरीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

   

You cannot copy content of this page