उत्सव आचार्य /
कञ्चनरुप (सप्तरी), ४ भदौ । सप्तरीको कञ्चनरुप नगरपालिकाले आज शुक्रबार कञ्चनरुप नगर क्षेत्र भित्र रहेको सडकको खाल्डोहरुमा ग्राभेल हाल्ने काम गरेको छ ।
कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रको नेतृत्वमा गएको टोलीले नगर क्षेत्रभित्र पर्ने लोकमार्ग र कञ्चनपुर फत्तेपुर सडक खण्डको खाल्डोहरुमा ग्राभेल हाल्ने काम गरेको हो ।

सडकमा खाल्डो परी सवारी साधनहरुलाई हिँडन अप्ठयारो हुँने र दुर्घटना हुँने सम्भावनालाई मध्यनजर गरी नगपालिकाले ग्राभेल हालेको नगर प्रमुख बसन्त कुमार मिश्रले बताउनुभयो । उहाँका अनुसार आफ्नो कामलाई अरुको बाटो हेरेर त्यसै छोड्न नहुँने र आफ्नो ठाउँको विकास आफैं गरे मात्र समाजमा परिवर्तन आउने छ ।
सडकको मर्मत सम्भार सडक विभागले गर्नुपर्ने हो तर सडक विभाग ले सडकमा खाल्डा खुल्डी भई सवारी साधन चलाउन समस्या उत्पन्न भएको बेला नगरपालिकाले ग्राभेल हाली खाल्डाखुल्डी पुर्ने काम गर्नु अतिनै प्रशंसा योग्य रहेको स्थानिय उत्तम प्रसाद आचार्यले बताउनुभयो ।

यसरी लोकमार्गहरुमा ग्राभेल हाल्ने काम कञ्चनरुप नगरपालिका पहिलो रहेको र बढी दुर्घटना हुने स्थलमा ग्राभेल हालेर नगरपालिकाले नमूना कार्य गरेको स्थानिय जैनुदिन मियाँले बताउनु भएको छ ।
टोलीमा प्रेस चौतारी नेपालका, सप्तरी सदस्य उत्सव आचार्य र नगर प्रहरीहरुको समेत सहभागिता रहेको थियो ।






Add Comment