स्वास्थ्य

दलित सरोकार मञ्चद्वारा कञ्चनरुप नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

कञ्चनरुप ,११ भदौ । दलित सरोकार मञ्च नेपाल कञ्चनरुप नगरपालिका वडा नम्बर ८ सप्तरीको समन्वयमा चुजी च्यारिटी फाउण्डेसन ताइवानको सहयोगमा शुक्रबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
एक समारोहका बीच कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रलाई डिजिटल एक्सरे ५ सय एम.ए.को एक थान, भिडियो एक्सरे कलर डोपला भएको एक थान, भेन्टिलेटर एक थान हस्तान्तरण गरिएको दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवानले बताउनुभयो ।

डिजिटल एक्सरे, भिडियो एक्सरे र भेन्टिलेटर प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा चाँडै सञ्चालनमा ल्याइने स्वास्थ्य शाखाका स–संयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ताले बताउनुभयो ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले अति महत्वपूर्ण स्वास्थ्य सामग्रीहरु सहयोग गरेकोमा सहयोगी संस्था र समन्वय गर्ने मञ्चलाई विशेष धन्यवाद दिनुभएको थियो । नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखी काम गरिरहेको बेला जनताको आधारभूत स्वास्थ्य जाँचका लागि डिजिटल एक्सरे, भिडियो एक्सरे र भेन्टिलेटर सहयोगले धेरै ठूलो सहयोग मिलेको मिश्रले बताउनुभयो ।

उप–प्रमुख निरु पोखरेलले प्राप्त भएको स्वास्थ्य सामग्रीलाई चाँडै सञ्चालनमा ल्याई जनतालाई सुविधा दिने बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नवराज खडका, दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवान, बालमैत्री स्थानिय शासकका फोकm पर्सन राजेश कुमार यादव लगायतका वक्ताहरुले प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरलाई चाँडै सुविधा सम्पन्न बनाई जनतालाई सरल तरिकाले स्वास्थ्य सेवा प्रदान गर्न गृहकार्य गरी अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।
नगर प्रमुख बसन्त कुमार मिश्रको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page