राजविराज, २४ मङ्सिर । सप्तरीको राजविराज कारागारका कैदीबन्दीहरुले जेलर, चौकिदार र मुल नाइकेहरुविरुद्ध नाराबाजी र प्रदर्शन गरेपछि शुक्रबार दिनभर तनावग्रस्त बनेको थियो ।
कैदीबन्दीहरुले परिवारका सदस्यहरुलाई भेंटघाट गर्न रोकटोक गरेको, औषधउपचारमा वेवास्ता गरेको, जाडोको कपडा, सिरकलगायत राज्यबाट प्राप्त सुविधा नदिएको भन्दै नाराबाजीसहित प्रदर्शन गरेको बताए । कारागार तनावग्रस्त बनेपछि कारागारभित्र इन्स्पेक्टर रामनारायण सिंहसहित सुरक्षाकर्मीको उपस्थिति बढाइएको थियो ।
इन्सेक सप्तरी प्रतिनिधि मनोहर पोखरेल नेतृत्वको इन्सेकको टोली समेत कारागार पुगेर जेलर सुमन कोइराला र चौकिदार श्याम यादवसँग भेंटघाट गरी वस्तुस्थितीका बारेमा जानकारी लिएका छन् ।
इन्सेक सहजकर्ता दिपक यादव र इन्सेकद्वारा गठित नगरस्तरिय मानव अधिकार निगरानी समूहका अध्यक्ष रघुबर साह सहित पुगेका पोखरेलले कैदीबन्दीहरुसँग मानवोचित व्यवहार गर्न र समस्या सम्बोधन गर्न माग गरेका छन् ।
यसैगरी संवेदनशीलतालाई मध्यनजर गर्दै कारागारमा आवश्यक सुधारका लागि कैदीबन्दी र कारागार प्रशासनबीच पुलको काम गर्न चौकीदार यादवसँग टोलीले आग्रह गरेको छ । कारागार तनावग्रस्त भएकाले कैदीबन्दीहरुसँग भेंटन भने कारागार प्रशासनले नदिएको पोखरेलले बताए ।
कारागार तनावग्रस्त भएपछि मुल नाइके र नाइकेहरु परिवर्तन गरी बी ब्लकमा सारिएको छ भने शुक्रबार राति २ सय २५ ओटा सिरकहरु ल्याइएको छ ।
राज्यले दिने सबै सुविधा समयमै उपलब्ध गराइएको, विरामीलाई औषधउपचारका लागि अस्पताल पठाउने गरिएको र कैदीबन्दीहरुको परिवारलाई विहान ११ देखि दिउँसो २ बजेसम्म भेंटघाट गर्न दिइएको जेलर सुमन कोइरालाले बताए ।
कारागारमा हाल एक आश्रित बालकसहित १२ जना महिला र ३ सय ५० पुरुष गरी ३ सय ६३ जना कैदीबन्दी छन् ।
Add Comment