राजविराज, १ पुस । निजी तथा आवासीय विद्यालयको छाता संगठन प्याब्सनको सप्तरी जिल्ला नेतृत्वका लागि आज बिहीबार दुई जनाले उम्मेदवारी दिएका छन् ।
नयाँ नेतृत्वका लागि आज भएको मनोनयनमा देबानन्द चौधरी र अरुणकुमार देवले अध्यक्ष पदका लागि मनोनयन दर्ता गरेका हुन् ।
यसैगरी १ जना सहकोषाध्यक्ष पदका लागि बिरेन्द्रप्रसाद यादव र दिपेन्द्रप्रसाद यादवले मनोनयन दिएका छन् । कार्यसमितिको ३ जना सदस्य पदका लागि दिपेनकुमार मण्डल, उमाकान्त चौधरी, मदनकुमार चौधरी, जितेन्द्र सेठ र सुसिलकुमार मण्डलले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका संयोजक बिजयानन्द झाका अनुसार अन्य अधिकांश पदहरुमा १ जनाको मात्र उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा उग्रकान्त झा, उपाध्यक्षमा देवकान्त चौधरी, सचिवमा संजयकुमार शर्मा, कोषाध्यक्षमा हरेराम साह र सहसचिवमा अरबिन्द यादवको उम्मेदवारी परेको झाले बताए ।
जिल्लाभरीका ९५ वटा निजी विद्यालय सदस्य रहेको प्याब्सन सप्तरीमा हालसम्म पुष्प सिटौला, भोगेन्द्र चौधरी, अनिलकुमार झा, कुमार पाठक, पञ्चदेव यादव र देबानन्द चौधरीले क्रमशः नेतृत्व गरिसकेका छन् ।
राजविराजमा शनिबार हुन गइरहेको १५औँ जिल्ला अधिवेशनको उद्घाटन प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले गर्ने निश्चित भएको प्याब्सनका सचिव शान्त अधिकारीले जानकारी दिए ।
उक्त अवसरमा प्याब्सन शाखाको भवनका लागि जग्गा प्रदान गर्नुहुने दाताको प्रतिमा समेत अनावरण गर्ने कार्यक्रम रहेको छ ।
Add Comment