समाचार

सप्तरीमा ०७७ पुष १७ गतेदेखि ०७८ पुस १६ गतेसम्म इन्सेकमा ९४ हिंसाका घटना अभिलेख

सप्तरी । सप्तरीमा २०२१ जनवरीदेखि डिसेम्बरसम्म अर्थात ०७७ पुष १७ गतेदेखि ०७८ पुस १६ गतेसम्म इन्सेकमा ९४ घटना अभिलेख भएको छ ।
इन्सेक सप्तरी प्रतिनिधि मनोहर कुमार पोखरेलले दिनुभएको जानकारी अनुसार यो वर्ष गैरराज्यबाट ८ ओटा हत्याका घटनामा अति वरिष्ठ ज्येष्ठ नागरिक १, ज्येष्ठ नागरिक १ सहित ५ पुरुषको हत्या भयो । मृतकहरुको उमेर ८९, ६८, ५०, ४० र २२ रहेको छ । आरोपितहरु २० जना रहे । आरोपितमध्ये थुनामा ६, धरौटीमा ४, हालै पक्राउ परेका ३ र पक्राउ पुर्जी जारी भएका २ जना छन् । पाँच जना आरोपित रहेको १ उजुरी दर्ता भएको छैन् । अति वरिष्ठ ज्येष्ठ नागरिकको हत्या आरोपितको पहिचान हुन सकेको छैन् ।
यसैगरी १ महिलाको हत्याका आरोपित समेत पहिचान हुन सकेको छैन् । नौ वर्षीय १ बालिकाको बलात्कारपछि हत्या र १६ वर्षीय १ बालकको यसै अवधिमा हत्या भयो । बालिका हत्या आरोपित १ जना थुनामा छन् । बालक हत्याका आरोपितमध्ये १ जना थुनामा, १ जना बालसुधार गृहमा र १ जना फरार रहेका छन् ।
गत वर्ष सन २०२० मा २ ज्येष्ठ नागरिक, एक दलितसहित चार पुरुषको हत्या घटना अभिलेख भएको थियो । जसमा १८ जना आरोपित रहेका थिए । बालक हत्याको ३ ओटा उजुरी परेकोमा २ ओटाको अनुसन्धान हुँदा १ घटनामा १ जना पुर्पक्षका लागि थुनामा र २ बालक जमानीमा रिहा भएका थिए । महिला हत्याको ४ घटनामा ३१, ४०, ४७ र ५५ वर्षीया महिला पीडित भएकी थिइन् । घटनामा २१ देखि ६० वर्षका २० जना आरोपित रहेका थिए । हत्या प्रयासका ३ घटनामा ३०, २४ र २० वर्षीया महिला पीडित भएकी थिइन् । २७ देखि ५५ वर्षीय ६ जना आरोपित थिए ।
यो वर्ष आत्महत्या दुरुत्साहनका ३ घटनामा २०, २४ र २८ वर्षीया ३ महिला पीडित भइन् । आरोपितहरुमा पति, सासु, ससुरा र देवर छन् । जसमध्ये १ जना पुर्पक्षका लागि धरौटी राखी तारेखमा रिहा भए भने ५ जना गिरफ्तार भएका छैनन् ।
बालिका बलात्कारको १६ घटनामा ५,६ देखि १८ वर्षभित्रका १७ जना पीडित भइन् । पीडितमध्ये १ जना अपाङ्गता भएकी बालिका छिन् । आरोपित १५ वर्षदेखि ७१ वर्षका २४ जना छन् । जसमा २ जना आरोपित पीडितका बुवा नै छन् । आरोपितमध्ये ४ जना पुर्पक्षका लागि थुनामा, १ बालक अभिभावकको जिम्माजमानीमा, २ जना धरौटीमा रिहा भएका छन् । आरोपितमध्ये १४ जना गिरफ्तार भएका छैनन् भने ३ जना हालै गिरफ्तार भएका छन् ।
सन २०२० मा बालिका बलात्कारको २६ घटना अभिलेख भएकोमा ४ देखि १७ वर्षीया २६ जना बालिका पीडित भएकी थिइन् । जसमा १ बालिकाले आत्महत्या गरेकी थिइन । पीडितमध्ये ३ जना अपाङ्गता भएकी बालिका थिइन् । आरोपित ७ वर्षदेखि ४५ वर्षका ३४ जना थिए । आरोपितमध्ये १ जना अपरिचित र १ जना बालिकाका बुवा समेत थिए ।
यो वर्ष बाल यौन दुव्र्यवहारमा ९ घटनामा ९ देखि १७ वर्षीया १० बालिका पीडित भइन् । आरोपितमा १७ देखि ४८ वर्षीय ११ जना रहे । जसमा शिक्षकविरुद्धको एउटा उजुरी दर्ता भएन् । आरोपितमध्ये १ जना पुर्पक्षका लागि धरौटीमा रिहा भए, १ जना बालसुधार गृहमा, ३ जना फरार र २ जना पुर्पक्षका लागि थुनामा छन् भने ३ जना हालै गिरफ्तार भएका छन् ।
सन २०२० मा बाल यौन दुव्र्यवहारका १३ घटनामा ७ देखि १७ वर्षीया १४ बालिका पीडित भएका थिइन् । आरोपितमा १८ देखि ७६ वर्षीय २३ जना थिए ।
यो वर्षको अवधिमा ६ वर्षीय बालकमाथि अप्राकृतिक मैथुन गरेको आरोपमा २० वर्षीय युवक पुर्पक्षका लागि थुनामा छन् । गत वर्ष पनि ५ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपित २० वर्षीय आरोपित गिरफ्तार भएका थिए ।
महिला बलात्कारका ९ घटनामा १८ माथि ३० वर्षीयासम्मका ९ महिला पीडित भइन् । बलात्कारको घटनामा १९ देखि ३३ वर्षीय ९ जना आरोपितहरु छन् । जसमा १ जना थुनामा, २ जना जिम्माजमानीमा र ३ जना पुर्पक्षका लागि धरौटीमा रिहा भएका छन् भने ३ जना फरार छन् ।
गत वर्ष महिला बलात्कारका १० घटनामा १८ देखि ३५ वर्षीया १० महिला पीडित भएकी थिइन् । एक सामुहिक बलात्कारसहित १० बलात्कारको घटनामा १९ देखि ३५ वर्षीय १२ जना आरोपितहरु थिए ।
यो वर्ष महिला बलात्कार प्रयासका ९ घटनामा २० देखि ३१ वर्षीया महिला पीडित भइन् । यसमा २१ देखि ५० वर्षीय १३ जना आरोपित रहे । दुई ओटा उजुरी अनुसन्धानका क्रममा छ । बाँकी ७ घटनामध्ये १ जना पुर्पक्षका लागि थुनामा, ३ जना धरौटीमा र ३ जना फरार रहेका छन् । यौन दुव्यर्वहारका २ घटनामा पीडितले उजुरी फिर्ता लिइन् ।
सन २०२० मा महिला बलात्कार प्रयासका ११ ओटा घटनामा १९ देखि ५६ वर्षीया महिला पीडित भएकी थिइन् । जसमा १९ देखि ५२ वर्षीय १३ जना आरोपित रहेका थिए । महिलामाथि यौन दुव्र्यवहारको १ घटना थियो ।
बहुविवाहको ९ घटनामा २१ देखि ४६ वर्षीया महिला पीडित बनिन । आरोपितमध्ये ६ जना पुर्पक्षका लागि धरौटीमा रिहा भए, १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भयो भने २ जना फरार छन् । गत वर्ष बहुविवाहको १३ घटनामा २० देखि ४१ वर्षीया महिला पीडित बनेकी थिइन ।
गत वर्ष गर्भपतनको १ घटना अभिलेख थियो भने यो वर्ष २ घटना अभिलेख भएको छ । २४ वर्षीया महिला पीडित भएको घटनामा ४ जना आरोपित पुर्पक्षका लागि धरौटीमा रिहा भए भने ३० वर्षीया महिला पीडित भएको घटनामा १ जना पुर्पक्षका लागि धरौटीमा रिहा भए र १ जनाविरुद्ध म्यादी पुर्जी जारी भयो ।
बालविवाहका १ घटना जनप्रतिनिधी, प्रहरी, इन्सेक र गाउँलेको पहलमा रोकिएको छ भने २ बालविवाहको आरोपित १० मध्ये १ जना पुर्पक्षका लागि धरौटीमा रिहा, १ जनाविरुद्ध पक्राउ पुर्जी, ५ जनाविरुद्ध म्यादी पुर्जी र ३ जना फरार छन् । गत वर्ष बालविवाहका ५ घटना जनप्रतिनिधी, प्रहरी, इन्सेक, बाल सञ्जाल र गाउँलेको पहलमा रोकिएको थियो भने १ बाल तथा बहुविवाहको आरोपित २ जना फरार छन् । १४ वर्षीया १ बालिका अपहरणको आरोपमा १ जना आरोपित पुर्पक्षका लागि थुनामा छन् ।
मानव वेचविखनको १, अपहरणको ३, गैरकानुनी थुनाको १, अमानविय व्यवहारको १, घरेलु हिंसाको ६ घटना अभिलेख गरिएको छ । कुटपिट÷दुव्र्यवहारको ६ घटनामा घाइते हुनेमा ४ कर्मचारी, १ शिक्षक, १ डाक्टर, १ सर्वसाधारण रहेका छन् ।
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारअन्तर्गत गत वर्ष झै यो वर्ष पनि ४ ओटा घटना अभिलेख भएको छ । वडा कार्यालय, डिहबार थान, विद्यालय तोडफोड भएको छ भने नाप नक्शा बनाउने समान फ्याँकिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page