समाज

कठ्याँग्रिदो जाडोमा मरिक परिवारलाई पुस कटाउनै हम्मे

बृजमान तामाङ
बिरेन्द्र बजार, २० पुस ।

सप्तरीको अग्नीसाईर कृष्णसवरण गाउँपालिका २ का ६० वर्षीय महेन्द्र मरिक यति बेला साह्रै सकसमा परेका छन् । डोम (मरिक) जातिको पुख्यौली पेशा बाँसका सामग्री तयार गर्ने पेशाले विहान बेलुकाको छाक टार्न पनि धौं–धौं परेका उनलाई पुसको कठ्याँग्रिदो जाडोको सामना कसरी गर्ने भन्ने चिन्ताले सकस परेको हो ।
पुस्तौंदेखि ऐलानी जग्गामा झुप्रो बारेर बस्दै आएका उनका परिवारमा पाँच जना सदस्य छन् । आयस्तरको अन्य उपाय नरहेका कारण जाडोको ओढ्ने ओच्छ्याउने व्यवस्था गर्न नसकेका कारण चिसो रात कटाउन उनको परिवारमा महाभारत नै छ । दुई दिन अघिसम्मको झरि आगो तापेर जसोतसो कटाएको पीडा सुनाउँदै उनले भने, अहिले दिउँसो घाम लागेपनि साँझ पर्नासाथ ठण्डीले जिउ काँप्छ अनि रात कटाउन पहाडै लाग्ने गरेको छ ।

महेन्द्रकै छिमेकी २२ वर्षीय सीतारा मरिकको अवस्था पनि कम पीडादायक छैन । दुई साता अघि सुत्केरी भए पनि उनको बच्चा खेर गएको र आफैं विरामी अवस्थामा रहेकी सीताराले जाडोका कारण राती कामेरै बिताउनु परेको पीडा सुनाईन् । भत्केको झुप्रोबाट चिसो सिरेटो छिर्दा बोरामा पराल कोचेर ओढ्नु परेको दुःखेसो सुनाउँदै उनले थपिन्, यस्तो विपत्तिमा पनि हामीलाई हेर्ने कोही भएनन् ।
तराई मधेशमा सबैभन्दा विपन्न मानिएका डोमहरु मध्ये प्रायः सबैको अवस्था यस्तै रहेको डोम उत्थान समाज सप्तरीका अध्यक्ष युक्तिलाल मरिक बताउँछन् । चुनावका समयमा अनेक थरिका आश्वासन र प्रतिबद्धता लिएर आउने नेताहरु अहिले जाडोका कारण बिचल्लीमा परेका बेलामा विपन्न दलित वस्तीमा पाईलो राख्न पनि नपुगेको बताउँदै उनले भने, ज्यानै जोगाउन हम्मे परिरहेको बेलामा पनि नहेर्ने जनप्रतिनिधिमाथि कसरी भरोसा गर्ने ? सरकारले ठण्डीपीडितहरुका लागि राहतको व्यवस्था मिलाउँछ भनेर आफूले सुनेको भए पनि सप्तरीका डोमहरुका लागि त्यो अहिलेसम्म आकाशको फल आँखा तरी मर झैं भएको उनको कथन छ ।

अध्यक्ष मरिकले जिल्लाका खडक नगरपालिका, डाक्नेश्वरी नगरपालिका, छिन्नमस्ता गाउँपालिका, शम्भुनाथ नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका लगायतका स्थानमा पनि डोमहरुको बसोबास रहेको बताउँदै उनीहरुलाई पुसको ठण्डी काल झैं बनेको जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page