राजनीति

आगामी निर्वाचनमा एमालेको बहुमतको सरकार बन्ने : एमाले सचिव रघुबीर महासेठ

राजविराज, २३ पुस । सप्तरीको राजविराजमा आज सुरु भएको नेकपा (एमाले) सप्तरीको ९ औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै एमाले सचिव तथा प्रदेश २ का इन्चार्ज रघुबीर महासेठले आगामी निर्वाचन पछि एमालेको सरकार बन्ने दाबी गरेका छन ।
राजविरास्थित राजरंगशालामा आयोजित सभालाई सम्बोधन गर्दै महासेठले केही नेताहरूले छाडे पनि नेपाली जनता साथमा रहेकाले आगामी निर्वाचनमा एमालेको बहुमतको सरकार बन्ने दाबी गरे ।

साढे दुई सय वर्षसम्म हुन नसकेको विकासको कामलाई एमालेले तिब्रताका साथ अगाडि बढाएको बताउँदै पूर्व उपप्रधानमन्त्री समेत रहेका महासेठले जनता र मुलुकको भलो नचाहनेहरूले षडयन्त्र गरेर एमालेलाई सरकारबाट प्रतिपक्षमा पु¥याएको आरोप लगाए । गाउँ–गाउँमा सडक, पुल, स्वास्थ्य चौकी, बिद्यालय, उद्योग, कलकारखानाको निर्माण र विकासमा जोड दिएको एमालेको सरकारले मधेसको विकासका लागि तराई मधेस विशेष पूर्वाधर कार्यक्रम ल्याएको स्मरण गराए ।

महासेठले सरकार स्थिर भएर सही नेतृत्व नभएसम्म देश विकाश सम्भव नरहेको बताएका छन् । ६० वर्ष नेपालमा हुन नसकेको विकास एमालेले साढे तीन वर्षमा गरेको उनले बताए ।
एमालेका स्थायी कमिटी सदस्य प्रदेश २ का सहइन्चार्ज प्रभु साहले मुलुकमा परिवर्तन जरुरी रहेको भन्नुहुँदै परिवर्तनलाई एमालेले सम्भव गर्ने दावी गरे । सत्ता र कुर्सीका लागि छुट्टिएर अर्को पार्टी गठन गर्नेहरू सत्ताबाट बाहिरिने बित्तिकै समाप्त हुने साहले बताए ।

राष्ट्रिय सभा संसदीय दलका नेता तथा एमाले पोलिटव्युरो सदस्य सुमनराज प्याकुरेलले सरकारमा रहदा र बाहिरिदा पनि सवत्र्र एमालेकै चर्चा भइरहेको बताए । उनले अगाडि भने– “एमाले जनताका बीचमा जान र नयाँ जनादेश लिन चाहन्छ अरुहरू चुनावमा जान डराएर गठबन्धनमा भागवण्डा मिलाउन व्यस्त हुन चाहन्छन् ।” प्याकुरेलले मुलुकमा एमाले बाहेक कुनै पार्टी नरहने बताए । सप्तरीको तीनवटा निर्वाचन क्षेत्रमा कुनै पार्टीले एमालेलाई हराउन नसक्ने प्याकुरेलको दाबी थियो ।

पोलिटव्युरो सदस्य ज्वालाकुमारी साहले एमालेलाई कमजोर बनाउन खोजेपनि झनै बलियो बन्दै गएको बताइन् । साहले पाँच दलीय गठबन्धनको कठपुतली वर्तमान सरकारले जनताको अधिकार हनन गरिरहेको आरोप लगाइन् । अर्का पोलिटव्युरो सदस्य लिलानाथ श्रेष्ठले एमालेको सरकारलाई हटाए पछि सबै संवैधानिक अंगका कामहरू ठप्प भएको बताए ।
कार्यक्रममा स्थायी समितिका पूर्व सदस्य एवम् प्रदेश सभा २ का संसदीय दलका नेता सत्यनारायण मण्डल, एमालेका केन्द्रीय सदस्यहरू दिवाकर देवकोटा, राजकुमार लेखी, सरीता गिरी, एमाले प्रदेश २ अध्यक्ष रामअवतार यादवले शुभकामना व्यक्त गर्नुहुँदै आउँदो चुनावपछि एमालेको सरकार बन्ने र बाँकी रहेका विकासका कामहरू अघि बढने बताएका छन् ।

जिल्ला अध्यक्ष ताराकान्त चौधरीको अध्यक्षता र सचिव देवनाथ यादवको सञ्चालनमा भएको उद्घाटन समारोहमा उपाध्यक्ष अब्दुल मजिद साकिरले स्वागत तथा सहसचिव अखिलेश झाले धन्यवादज्ञापन गरेका थिए ।
उद्घाटन समारोहको बिचबिचमा राष्ट्रिय जनसांस्कृतिक मञ्चका कलाकारहरूले सांस्कृति कार्यक्रममार्फत मनोरञ्जन प्रदान गरेका थिए । उद्घाटन समारोहमा सगरमाथा यातायात संघका पूर्व अध्यक्ष नुरुल होदा अन्सारी, शिक्षाप्रेमी मा. यासिन, जमुनी मधेपुरा गाविसका पूर्व अध्यक्ष मुनीलाल खंगलगायत एक हजार बढी विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका थिए ।

उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका ५ सय १७ जनालाई प्रमुख अतिथि महासेठले फुलमाला र अविर लगाई स्वागत गरेका थिए । 

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page