बृजमान तामाङ
बिरेन्द्र बजार, २३ पुस । चुनावताका गाउँमा धाउने नेताहरुले दिएका थरिथरिका आश्वासन र गरेका प्रतिबद्धता ८९ वर्षीय रेशमी सदालाई अहिले पनि सम्झना छ । पुस्तौंदेखि सप्तरीको रुपनी गाउँपालिका ६ स्थित बाटो छेउको ऐलानी जग्गामा बस्दै आएका उनले आश्वासन पुरा हुनु त परै जाओस् पाँच वर्षदेखि आश्वासन दिने र प्रतिबद्धता जनाउनेको अनुहार पनि देख्न पाएका छैनन् ।
रेशमी जस्तै उक्त ठाउँमा एघार मुसहर परिवार झुप्रो बारेर बसेका छन् । उक्त मुसहर बस्तीका मुर्ति सदा, अनार देवी, पार्वती देवी, कुमारी, देवनारायण, धनेश्वरी, बुधेश्वर, मुनेश्वर, मंगला र सत्यनारायण सदा सबैको आश्रयस्थल त्यही ऐलानी जग्गामा बारेको झुप्रो नै हो । ऐलानी जग्गामा झुप्रो रहेका कारणले कति बेला उठिबासमा परिने हो भन्ने चिन्ताले पछ्याईरहन्छ, ६९ वर्षिया अनारदेवी सदा भन्छिन्, चुनावताका जग्गाको लालपूर्जा नै दिलाई दिने भनि आश्वासन दिने नेताहरुको फेरि नाकमुख देख्न पाईएको छैन ।
आफ्नो नाउँमा एक धुर पनि नम्बरी जग्गा नरहेका कारण बाउबाजेले पनि यसरी नै दुःखमा जीवन बिताएको स्मरण सुनाउँदै अर्का भूमिहीन मुर्ति सदाले भने, हाम्रो पनि यस्तै नियति भयो अब बालबच्चाले पनि यस्तै दुःख भोग्ने होलान् । सुकुम्बासीका साथै बेरोजगार पनि रहेका कारण विहान बेलुका चुलो बाल्न पनि धौं–धौं पर्नु मुसहर वस्तीकाहरुको साझा समस्या बनेको छ ।
नेताहरुले अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने, ऐलानी जग्गामा बसेकाहरुलाई जग्गा उपलब्ध गराउने, रोजगारीको प्रबन्ध गर्ने र व्यवसाय चलाउन सहुलियतमा ऋण दिने कुरा भनेको आफूहरुले सुनेको भए पनि त्यो कार्यान्वयन नहुनाले आशै आशामा जीवन व्यथित भईरहेको मुसहरहरुको गुनासो छ ।
गत साता मौसम बिग्रनाका साथै वर्षा भएका समयमा ठण्डीबाट जोगिन हम्मे परेको बताउँदै उनीहरुले यस्तो सकसपूर्ण अवस्थामा पनि कतैबाट कुनै सहयोग नपाएको पीडा पोखे । विपन्न दलितलाई सरकारले नै निशुल्क घर बनाएर दिने जनता आवास कार्यक्रम आएको भनि आफूहरुले सुनेको भए पनि त्यो कार्यक्रम यहाँ लागु नगरी उपेक्षा गरिएको मुसहरहरुको गुनासो छ ।
समस्यामा परेका आफूहरुको परिवार संख्या र नाम टिपेर लगिएको भए पनि कुनै सहयोग नपाउँदा उपेक्षित अवस्थामा बाँच्नु परिरहेको स्थानीय सत्यनारायण सदाले बताए । चुनावको बेलामा मात्र भोट माग्न आउने अनि चुनाव सकिएपछि खोजखबरै नगर्ने गरिएका कारण आफूहरुलाई भोट बैंकका रुपमा मात्र उपयोग गरि पछि उपेक्षा गरिएको उनीहरुको दुःखेसो छ ।
मुलुकमा ऐतिहासिक परिवर्तन आएको भनिए पनि आफूहरु जस्ताको अवस्थामा कुनै सुधार नआएका कारण परिवर्तन टाठाबाठा र पहुँचवालाकहाँ मात्र आएको भान हुन थालेको बताउँदै सत्यनारायणले भने, हामी तल परेकाहरु सधैं तल नै परिरहने हो भने परिवर्तन आयो भनि कसरी पत्याउने ?
Add Comment