कञ्चनरुप , २७ पुष । सप्तरीको कञ्चनरुप नगरपालिकाले नगर भित्रका सम्पूर्ण सामूदायिक तथा संस्थागत विद्यालयहरु आजदेखि माघ १५ गते सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।
शिक्षा शाखाले मंगलवार एक सूचना प्रकाशित गरी पुष २७ गतेदेखि माघ १५ गतेसम्म नगर भित्रका सम्पूर्ण सामूदायिक तथा संस्थागत विद्यालयहरु बिदा दिने निर्णय गरेको हो ।
शिक्षा शाखा समिति कञ्चनरुपको आज बसेको बैठकको निर्णय अनुसार देशभर कोभिड १९ को संक्रमण तिब्र रुपमा फैलिन थालेपछि र ओमिक्रोनको समेत संक्रमण पुष्टि हुन थालेपछि विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा बचावटको विशेष ध्यान दिदै आधारभूत तथा माध्यमिक विद्यालयहरु २०७८ पौष २७ गते देखि ०७८ माघ १५ गतेसम्म विद्यालयहरुको वार्षीक बिदामा मिलान हुनेगरी विद्यालयहरु बन्द गर्न लागिएको शिक्षा शाखाका संयोजक ललित नारायण यादवले जानकारी दिनुभयो ।
साथै उक्त अवधिमा १२ वर्ष देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई नजिकको स्वास्थ्य संस्थामा खोपको लागि पठाउन सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुलाई आग्रह समेत गरेको छ ।
बिदाको अवधिमा विद्यालयहरूले सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले गरेको व्यवस्था बमोजिम विद्यार्थीको पठनपाठनमा आवश्यक सहजीकरणको प्रबन्ध मिलाउन समेत सूचना मार्फत नगरपालिकाले सबैलाई आग्रह गरेको छ ।
पुस २५ गतेको सिसिएमसिसीको सिफारिस र पुष २६ गते शिक्षा मन्त्रालयको निर्णयअनुसार आजदेखि लागू हुनेगरी देशभरका विद्यालयमा पठनपाठन बन्द गरिएको छ ।
Add Comment