समाचार

मनाईयो २८औं लोकेन्द्र स्मृति दिवस ;पुस महिना भित्र प्रदेशको नामाङ्कन र राजधानीको टुगो लाग्छ :मन्त्री साह

बृजमान तमाङ
राजविराज, २६ पुस ।
प्रदेश नम्बर २ सरकारका प्रबक्ता एवम् अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले पुस महिनाभित्र प्रदेश २ को नामाङ्कन तथा राजधानी टुंगो लाग्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरीद्वारा राजविराजमा सोमबार आयोजित २८ औं लोकेन्द्र बुढाथोकी स्मृति दिवस तथा उमा सिंह पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री साहले प्रदेश नम्बर २ को नामाङ्कन तथा राजधानीबारे सहमति नजिक पुगिसकेको बताए । प्रदेश २ को नामाङ्कन र राजधानीबारे राजनैतिक दलहरुसँगको छलफल अन्तिम चरणमा पुगिसकेको छ, मन्त्री साहले भने– पुस महिनाभित्र प्रदेशको नामाङ्कन र राजधानी बारे टुंगो लाग्छ ।
प्रदेश २ का संसदमा प्रतिनिधित्व गर्ने दलहरुका बहुमत साँसदहरुले मधेश प्रदेश र धनुषाको जिल्लामा राजधानी कायम गर्न समर्थन जनाईसकेको उल्लेख गर्दै प्रदेश सरकारका तर्फबाट बार्ता टोली संयोजक समेत रहेका मन्त्री साहले सहमतिको आधारमा प्रदेशको नामाङ्कन र राजधानीको टुंगो लाग्ने विश्वास व्यक्त गरे ।

प्रदेश सरकारका प्रबक्ता मन्त्री साहले प्रदेश सरकारले निरन्तर माघ ५ गते मनाउँदै आएको बलिदानी दिसव सप्तरीको राजविराजमा मनाउने निश्चित भएको बताए । प्रदेश सरकारले सहिदहरुको स्मृतिमा प्रत्येक बर्ष मनाउँदै आएको बलिदानी दिवसको तयारी भईसकेको छ, मन्त्री साहले भने राजविराजमा मनाईने दिवसको अवसरमा मधेश आन्दोलनमा सहादत प्राप्त ५७ सहिद परिवारलाई ३ लाखको दरले तथा घाईते तथा अंगभंग भएकहरुलाई अबस्था हेरेर २५ हजार देखि ३ लाखसम्म आर्थिक सहयोग गरिने छ ।
मन्त्री साहले आयाअर्जन गर्नका लागि सो रकम उपलब्ध गाराईने जानकारी दिदै सहिद परिवार र घाईतेहरुका लागि भरणपोषण भत्ताको समेत ब्यबस्था गरिएको बताए । मन्त्री साहले प्रदेश २ सरकार पत्रकार र समग्र संचार क्षेत्रको विकासमा प्रतिबद्ध भई अगाडि बढेको उल्लेख गरे । अपेक्षाअनुसार पत्रकार र संचारक्षेत्रको सहयोग र विकासमा कमी भएको छ, कार्यक्रमका प्रमुख अतिथि समेत रहेको मन्त्री साहले पत्रकारहरुको पेशागत सुरक्षा र भौतिक पूर्वधार विकासका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री साहले सक्रिय पत्रकारहरुलाई प्रोत्साहन गर्ने ५१ हजर भन्दा माथिको राशी रहेको पत्रकारिता पुरस्कार स्थापना गर्न महासंघलाई आग्रह गर्दै अक्षय कोषमा ५ लाख सहयोग गर्ने घोषणा समेत गरे ।
पूर्व निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले सप्तरीको पत्रकारिताको ईतिहासमा लोकेन्द्र बुढाथोकीको योगदान अविस्मरणीय रहेको बताए । लोकेन्द्रलाई स्मरणीय राख्न प्रतिष्ठान स्थापना गर्न सुझाव दिदै यादवले प्रतिष्ठान स्थापनामा तनमन र धनले सहयोग गर्न तत्पर रहेको बताए ।
प्रदेश आम संचार प्रधिकरण प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादवले प्रदेश नम्बर २ का पत्रकार महासंघको सदस्यहरुलाई ७ लाखको स्वास्थ्य विमा प्रदेश सरकारले गर्ने बताए । उनले आपत्कालीन अबस्थामा पत्रकारहरुलाई प्रदेश सरकारले तत्कालै १ लाख सहयोग तथा फागुनको पहिलो साताभित्र प्रदेशबाट प्रेसकार्ड वितरणको ब्यवस्था मिलाउने जानकारी दिए । अध्यक्ष यादवले पछिल्लो समयमा खोजमूलक र अनुसान्धनमूलक समाचार लेखनमा कमी हुँदै गएको भन्दै चिन्ता समेत व्यक्त गरे ।
मिडिया प्राधिकरण प्रदेश २ का अध्यक्ष शिवहरी भट्टराईले संचारकर्मी र संचार क्षेत्रमा दिइँदै आएको सेवा सुविधालाई सहज बनाउनेतर्फ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पत्रकारिताको माध्यमबाट भ्रष्टाचार, अनियमितता र जनताको समस्या उजागर गर्नुपर्नेमा जोड दिए । उनले पत्रकारको सुरक्षाका लागि स्थानीय प्रशासन प्रतिबद्ध रहेको समेत बताए ।

नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह, पूर्व केन्द्रिय सदस्य अबधेश कुमार झा, प्रदेश २ का सचिव भोला पासवान, शाखाका पूर्व अध्यक्षहरु विष्णु कुमार मण्डल, मुरली प्रसाद यादव, बैधनाथ झा, धिरेन्द्र प्रसाद साह, लोकेन्द्र बुढाथोकी पुरस्कार छनौट समितिका संयोजक वरिष्ठ पत्रकार अनिल कुमार अनलले स्वर्गीय पत्रकार बुढाथोकी र उमा सिंहको योगदानबारे चर्चा गरे ।
नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार मनोहर पोखरेलले स्वर्गीय पत्रकार बुढाथोकीको जिवनी र उनको योगदानबारे जानकारी गराएका थिए ।

नेपाल पत्रकार महासंघ सप्तरीका सचिव रामनारायण विश्वासद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष बैधनाथ यादवले गरे । सोही कार्यक्रममा आजको बाताबरण दैनिकका प्रकाशक सम्पादक बैधनाथ झाले स्वर्गीय महिला पत्रकार उमा सिंहको स्मृतिमा स्थापना गरेको बाताबरण पत्रकारिता पुरस्कारबाट पत्रकार महेन्द्र सदालाई सम्मान गरिएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित पातोमा रहेर ग्रामीण भेगका समस्या तथा चुनौतीहरुलाई पत्रकारिताको माध्यमले निरन्तर उजागर गरिरहेका कारण सदालाई पुरस्कृत गरिएको पुरस्कारका संस्थापक झाले जानकारी गराए । उक्त पुरस्कारको राशी नगद १ हजार एक १ सय रहेको छ ।

नेपाल पत्रकार महासंघ सप्तरीले प्रत्येक बर्ष पुस २६ गतेका दिन स्वर्गीय पत्रकार लोकेन्द्र बुढाथोकीको स्मृति दिवसका अबसरमा सप्तरीलाई कार्यक्षेत्र बनाएर सामाजिक रुपान्तरणका निम्ति कुरिती, कुप्रथा, भ्रष्टाचार, अनियमितता विरुद्ध निष्पक्ष, निर्भीकता र निडर भएर कलम चलाउने एक जना पत्रकारलाई यस पुरस्कारबाट पुरस्कृत गर्दै आएको थियो । यस बर्षको पुरस्कारका लागि आबेदन आएपनि मापदण्ड बमोजिम दावी कसैको पनि नपरेकोले पुरस्कार वितरण स्थगित गरिएको पुरस्कार छनौट समितिले जनाएको छ ।
सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर निर्भीकता साथ खोजमूलक समाचार लेख्दै आएका स्वर्गीय पत्रकार बुढाथोकीको २८ बर्ष पहिले रहस्यमय मृत्यु भएको थिए । बुढाथोकी आफ्नै सुत्ने कोठामा झुन्डिएको अबस्थामा फेला परेको थियो । पत्रकार बुढाथोकीको हत्या भएको हो वा आत्माहत्या भन्ने बारे अझै अन्यौल रहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page