बृजमान तामाङ
राजविराज, ७ माघ । सप्तरीमा प्रतिबन्धित लागू औषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि बरामद लागूऔषधसहित कारोबारमा संलग्न ब्यक्तिहरुलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा सप्तरीको तिरुहुत गाउँपालिका वडा नम्बर ५ बस्ने किसुनदेव मेहताको छोरा बर्ष २७ को राज कुमार मेहता, सोही ठाउँका भोला सदाको छोरा बर्ष १९ को सिन्धु सदा र अग्निसाईर कृष्णासवरन ६ बस्ने भागवत साहको छोरा बर्ष २५ को बैजु साह रहेका छन् ।
पक्राउ परेका अभियुक्तहरुको साथबाट डाईलेक्स डिसि लेखिएको सय एमएलको १ सय ९० बोतल, डाईजिपाम २ एमएल लेखिएको ईन्जेक्सन ९५ एम्पुल, फेनर्गन २ एमएल लेखिएको इन्जेक्सन ९५ एम्पुल र लिजेक्सिक २ एमएल लेखिएको ईन्जेक्सन ९५ एम्पुल बरामद भएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अवि नारायण काफ्लेले बताए ।
सप्तरीको छिन्नामस्ता गाउँपालिका १ स्थित बरही पुर्वपश्चिम कोशी कर्णाल पम्प नहरको बाटोमा बिहिवार चेकजाँच गर्ने क्रममा पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको को २३ प २७७३ नम्बरको मोटरसाइकल शंका लागि चेकजाँच गर्दा उक्त लागुऔषध बरामद भएको पत्रकार सम्मेलनमा एसपी काफ्लेले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई लागुऔषध शिर्षकमा मुद्वादर्ता गरि सप्तरी जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसान्धन कार्य अघि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
सप्तरी प्रहरी प्रमुखको रुपमा एसपी काफ्लेले जिम्मेवारी सम्हाले यताको लागू औषध विरुद्ध प्रहरीको यो दोस्रो ठूलो सफलता हो । एक महिना अगाडि समेत राजविराजबाट बसमा काठमाडौ लादै गरिएको अबस्थामा ठूलो परिणाममा लागू औधष सहित संलग्न ब्यक्तिहरुलाई राजविराजबाट सप्तरी प्रहरीले नियन्त्रणमा लिएका थिए ।
सप्तरीमा लागू औषध विरुद्ध प्रहरीले सक्रियता बढाएसंगै ठूलो परिणाममा प्रतिबन्धित लागू औषध बरामद हुनुको साथै संलग्न व्यक्तिहरु धमाधम पक्राउ पर्ने थालेका छन् ।
सप्तरी प्रहरीले अबैध गाँजाको बोट फडानी गर्ने अभियान देखि लागुऔषध प्रयोगकर्ताहरुलाई पक्राउ गरि कारबाही थालेका छ्न । प्रहरीले विहिवार लाखौ मुल्यको प्रतिबन्धित रजनीगन्धा, तुलसी र श्रोत नखुलेको लाखौ नगद समेत बरामद गरि आबश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Add Comment