राजनीति

एमाले उत्पीडित जाती समुदायको हक अधिकारका लागि लड्ने पार्टी हो : पासाङ शेर्पा

राजविराज, ११ माघ । नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष एवम् एमाले केन्द्रिय सदस्य पासाङ शेर्पाले एमाले उत्पीडित समुदायको हक अधिकारका लागि लड्ने पार्टी भएको दावी गरेका छ्न ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका ५ भिमारमा मंगलबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै शेर्पाले एमाले सबै जाती समुदाय र भूगोलको पार्टी भएको बताए । एमाले उत्पीडित जाती समुदायको हक अधिकार सुनिश्चित गर्ने सामाजिक न्यायका पक्षधर पार्टी हो, शेर्पाले भने, अरुले प्रचार गरेको जस्तो नेकपा एमाले पहिचान विरोधी पार्टी होईन । आफू आदिवासी जनजाति महासंघको अध्यक्ष हुदा एमालेकै मन्त्रीले आदिवासी जनजातिको उत्थान र पहिचानका लागि ऎना, कानुन ल्याएको चर्चा गर्दै शेर्पाले उत्पीडित जाती समुदायको हक अधिकार प्राप्तिका लागि एमालेमा गोलबद्व हुनुपर्नेमा जोड दिए ।

एमाले छोडेर अन्य पार्टीमा बसेर आदिबासी जनजाति, थारु, मधेशीको अधिकारका लागि संघर्ष गरेको अनुभव सुनाउदै शेर्पाले, गरिव, सुकुम्बासी, उत्पीडित र सर्वहाराको पक्षमा लड्ने पार्टी एमाले जस्तो सशक्त अरु नपाएको उल्लेख गरे । उनले आदिवासी जनजाति सहितका भेदभाव र अन्यायमा परेको समुदायको मुक्तिका लागि एमालेको नेतृत्व आबश्यक रहेको बताए ।
नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम राष्ट्रिय सभा संसदीय दलका नेता सुमनराज प्याकुरेल मधेशको विकास र समृद्धिका निम्ति एमालेको नेतृत्वमा स्थानीय र प्रदेश सरकार बन्नुपर्नेमा जोड दिए । उनले आगामी चुनावमा एमाले उम्मेदवारलाई वडा देखि प्रतिनिधि सभा सम्म निर्वाचित गर्न पार्टी संगठनलाई अगाडि बढाउन संगाठानिक क्रियाकलापलाई सक्रिय पार्न आग्रह गरे ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघका महासचिव एवम एमाले केन्द्रिय सदस्य पेम्बा गुरुङ भोटेले देशको विकास र सामाजिक रुपान्तरणका लागि विभेदमा परेका समुदायहरु एमालेमा गोलबद्व हुनुपर्ने आबश्यता औलाए ।
एमाले केन्द्रिय सदस्य एवम् सप्तरी जिल्ला ईन्चार्ज दिवाकर देवकोटाले एमाले अध्यक्ष केपि ओलिको दुरदर्शिताका कारण मुलुकमा विकासको लहर आएको बताए । उनले एमालेको पक्षमा जनलहर देखेर सत्तारुढ गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरेको आरोप लगाए । उनले एमालेको लोकप्रियता देखेर आत्तिनेहरु कहिले सफल हुन नसक्ने दावी गर्दैआगामी बैशाख भित्र निर्वाचन हुने ठोकुवा गरे ।

आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष एवम् एमाले केन्द्रिय सदस्य राज कुमार लेखीले २२ जिल्लालाई मधेश प्रदेश बनाउनु भन्नू अबैज्ञानिक र अव्यभारिक हुने बताए । मधेशमा बहु प्रदेश हुनुपर्ने भनी आफ्नो नेतृत्वमा आन्दोलन भएको स्मरण गराउदै लेखीले राज्यको शक्ति र श्रोत बाँडफाँडका लागि मधेशमा प्रदेशको संख्या बढाउनु उपयुक्त हुने स्पष्ट पारे । ठूलो जनसंख्या भएको तराई मधेशमा तत्कालीन संरचना अनुसार २२ जिल्ला र पाहाडमा ५३ जिल्ला भएका कारण पाहाडमा बढी बजेट विनियोजन हुने गरेकाले तराई मधेश विकासमा पछाडि परेकोले चर्चा गर्दै लेखीले जनसंख्याको आधारमा तराई मधेशमा हिमाल पाहाड भन्दा धेरै प्रदेश बनाउनुपर्ने जोड दिए ।

एमाले केन्द्रिय सदस्य एवम प्रतिनिधि सभा सदस्य सरिता गिरिले थारु र मधेशीलाई उठाउने पार्टी एमाले भएको दावी गर्दै थारु, मधेशी सहितका उत्पिडनमा परेको समुदायलाई एमालेमा आबद्ध हुन आग्रह गरिन ।
नेकपा एमाले अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा एमाले जिल्ला समिति सदस्य सावित्री चौधरीले स्वागत तथा धन्यवाद मन्तव्य व्यक्त गरिन ।

भेटघाट कार्यक्रममा लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रिय उपाध्यक्ष देव नारायण चौधरी, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निमा कामी शेर्पा लगायतका स्थानीय नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page