उत्तम आचार्य –
कञ्चनरुप, १७ माघ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ४ जगतपुरमा सञ्चालित समुदायका लागि सुरक्षित खानेपानी कार्यक्रम अन्तर्गत निर्माण भएका ओभर हेड ट्याङ्की, व्यक्तिगत धारा तथा चर्पीहरुको अनुगमन, मूल्याङ्कन तथा स्वच्छता सामाग्रीहरु वितरण गरिएको छ ।
सोमवार युनिसेफ जनकपुरका वास अफिसर बोधनारायण श्रेष्ठ, खानेपानी तथा सरसफाइ कार्यालय सप्तरीका प्रमुख अजय कुमार कर्ण, युनिसेफ सप्तरीका वास कोअर्डिनेटर रोशन गुप्ता, कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्र, प्रशासकिय अधिकृत नवराज खडका, खानेपानी तथा सरसफाइ शाखाका संयोजक अशोक केसी, वडा नम्बर ४ का वडा अध्यक्ष रामनारायण प्रसाद साह, सञ्चारकर्मीहरु र प्राविधिक सहितको टोलीले सो योजनाको अनुगमन, मूल्याङ्कन तथा स्वच्छता सामाग्रीहरु वितरण गरेको हो ।

२०७७ साल फागुनबाट निमार्ण कार्य सुरु गरिएको समुदायमा आधारीत सरक्षित खानेपानी कार्यक्रम सम्पन्न भएपछि अनुगमन मूल्याङ्कन र स्वच्छता सामग्रीहरु वितरण गरिएको हो ।
युनिसेफ एवानसी पर्साको सहयोग ६० लाख २३ हजार २ सय ३ रुपियाँ, कञ्चनरुप नगरपालिकाको सहयोग १२ लाख ४ हजार ६ सय ४० रुपियाँ, समुदायको जनश्रम दान ८ लाख ३० हजार गरी जम्मा ८० लाख ३० हजार ९ सय ३० रुपियाँको लागतबाट निमार्ण भएको आयोजनाबाट १ सय २७ घरधुरीका १ हजार २७ जना दलितहरु सरक्षित खानेपानी पिउन पाई लाभान्वीत हुने अरुणेदय जगतपुर खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिका टिम लिडर वेदप्रसाद रौनियारले बताउनु भयो ।
फिल्टर जडान भएपछि सुरक्षित खानेपानी समुदाय घोषणा गरिने रौनियारले बताउनुभयो ।

सोही अवसरमा युनिसेफको सहयोगमा १ सय ७२ जनालाई स्वच्छता सामाग्री समेत वितरण गरिएको छ । स्वच्छता सामाग्रीमा प्रति व्यक्ति प्लाष्टिकको बाल्टिन १ थान, जग १ थान, नाइलनको डोरी १ पिस, टुथ पेष्ट २ पिस, हात धुने साबुन ४ पिस, सेनेटरी प्याड २ प्याकेट, महिलाको लागि २ पिस कट्टु, काँइयो ३ पिस, ब्रस ६ पिस, तौलिया १ पिस, नेलकटर १ पिस, साबुनको वट्टा १ पिस, लुगा धुने साबुन ४ पिस गरेर वितरण गरिएको रौनियारले बताउनुभयो ।
वडा नम्बर ४ का वडा अध्यक्ष रामनारायण प्रसाद साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।



Add Comment