समाचार

समाजमा हुने हानिकारक परम्परागत अभ्यासलाई अन्त्य गर्न आफैबाट सुरु गर्नु पर्ने

राजविराज, २६ माघ । समाजमा हुने हानिकारक परम्परागत अभ्यासलाई अन्त्य गर्न आफैबाट सुरु गर्नु पर्ने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् ।
राष्ट्रिय महिला आयोगको आयोजना र इन्सेकको संयोजनमा बुधबार राजविराजमा आयोजित ‘समाजमा विद्यमान हानिकारक परम्परागत अभ्यास’ सम्बन्धी अन्तरक्रिर्या कार्यक्रमका सहभागीहरूले उक्त कुरा बताएका हुन् ।
कार्यक्रमका अध्यक्ष आयोगकी सदस्य जया घिमिरेले सबैको मन मष्तिष्कमा हिंसा नगर्ने, नगराउने सोंच र कसैले गरेमा प्रतिवाद गर्ने र पीडितको पक्षमा वकालत गर्ने क्षमता विकास गर्न जरुरी रहेको बताइन् । सामाजिक रुपान्तरणका साथै राजनीतिक प्रतिबद्धता, सुझबुझपूर्ण राजनीतिक नेतृत्व र सही सोंचबाट सञ्चालित रुपान्तरणमुखी साझा अभियानका माध्यमबाट मात्र हानिकारक परम्परागत अभ्यासहरूको अन्त्य सम्भव रहेको बताउँदै घिमिरेले साझा अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरी सफल पार्न सबैसँग अनुरोध गरिन् ।

प्रमुख अतिथि जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले महिला पुरुष समान हुन तथा समाजमा भएका हानिकारक अभ्यासलाई अन्त्य गर्नु पर्छ भन्ने मनमा लागेपनि परम्परादेखि चलि आएको रिवाजलाई अन्त्य गर्न समय लागेको बताए । हानिकारक अभ्यासका लागि महिला पुरुष सबै दोषी रहेकोले अन्त्यका लागि पनि सबैको भूमिका आवश्यक रहेको यादवले बताए ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जनसङ्ख्याका साथै सरकारी सेवा, सम्पति र राजनीतिमा महिलाको पहुँच बढदै गएको र विभेदका धेरै कानूनहरू हटदै गएकोमा खुशी व्यक्त गरे । समाजले अंगिकार नगरुञ्जेल कानून कार्यान्वयनमा समेत जटिलता आउने बताउँदै प्रजिअ गौतमले हानिकारक मान्यता हटाउन शिक्षा, चेतना अभिबृद्धिमा जोड दिए ।

त्यस्तै इन्सेक प्रतिनिधी मनोहर पोखरेलले “हानिकारक अभ्यास र जिल्लाको अवस्था ः सरोकारवालाको भूमिका” विषयक कार्यपत्र प्रस्तुत गर्दै संरचनागत बिभेद नै हिंसाको कारक रहेकोले नकारात्मक मानसिकता र व्यवहार परिवर्तन गर्नुपर्नेमा जोड दिए । सप्तरी जिल्लाको हिंसाको अवस्थाको तथ्यांक प्रस्तुत गर्दै पोखरेलले पहिलेका पुस्ताले जे भोग्यो त्यहीँ भोग्नुलाई कर्मको फल ठानेर हिंसालाई स्वभाविक मान्ने महिला र अधिकार ठानेर हिंसा गर्ने महिला, पुरुष सबै जिम्मेवार रहेको बताए ।
हिंसा गर्दिन, हिंसा सहन्न र हिंसा भएको देखेमा प्रतिवाद गर्छु भन्ने प्रतिबद्धता आवश्यक रहेको भन्दै उनले हिंसाका घटनामा संलग्नलाई राजनीतिक संरक्षण नगरी कानून बमोजिम हदैसम्मको कारबाही गराउन सबैको पहल आवश्यक रहेकोमा जोड दिए ।


कार्यक्रममा राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, आम सञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, जिल्ला बार इकाईका अध्यक्ष डोमन साह, आदिवासी जनजाती महासंघका अध्यक्ष बृजमन तामाङ, गैसस महासंघ तथा सगरमाथा अपाङ्ग कल्याण संघका अध्यक्ष बलदेव मण्डल, सहयोगी समाजका रामप्रकाश चौधरी, बौद्धिक अपाङ अभिभावक संघका अध्यक्ष जगदीश अर्याल, पत्रकार अवधेश झा, सुधा देव, दिनानाथ यादव, करुणा झा, अधिवक्ताहरू मीनाकुमारी देव, अरबिन्द चौधरी, अनेमसंघ सप्तरीकी अध्यक्ष ममता चौधरी, मैथिली महिला परिषदकी प्रतिमा देव, अधिकारकर्मी नरेन्द्रनारायण साहुलगायतले समाजमा परम्परागत रुपमा चल्दै आएको हानिकारक अभ्यासका कारण हुने विभेदले समाजमा पारेको असर, निम्त्याएको घरेलु हिंसा, बलात्कार, बालबिवाह, बहुविवाहले पार्ने असर लगायतका बारेमा जानकारी दिए ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुखहरू, गाउँपालिकाका उपाध्यक्षहरू, न्यायिक समितिका सदस्यहरू, विभिन्न राजनीतिक दलका महिला नेतृहरू, स्थानीय तहमा महिला बालबालिका शाखामा कार्यरत कर्मचारीहरू, कानुन व्यवसायी, अधिकारकर्मी, सञ्चारकर्मी, गैससकर्मी, महिला मानव अधिकार रक्षक सञ्जाल, नगरस्तरिय मानवअधिकार समूह, अपाङ्गता, ज्येष्ठ नागरिक समाज, तेस्रो लिङ्गी, प्रहरी, किशोरकिशोरी, बालबालिकालगायतको सहभागिता रहेको थियो ।
राष्टिय« महिला आयोगकी महिला विकास निरीक्षक देबी पण्डितद्वारा सञ्चालित कार्यक्रममा इन्सेक सदस्य तथा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले स्वागत गरे । कार्यक्रममा हिंसा विरुद्धको साझा प्रतिबद्धताको व्यानरमा सहभागीहरूले हस्ताक्षर गरेर प्रतिबद्धता समेत जनाएका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page