कञ्चनरुप, २२ फागुन । सरकारले स्थानिय तहको निर्वाचनको मिति घोषणा गरेसँगै सप्तरीको कञ्चनरुप नगरपालिकामा स्थानिय तहको चुनावमा विभिन्न पार्टीबाट प्रमुख/उपप्रमुख पदमा दर्जनौ व्यक्तिहरुको नाम चर्चामा आउन थालेको छ ।
सरकारले स्थानीय तहको चुनाव घोषणा गरेसँगै विभिन्न राजनीति दलबाट उम्मेदवार दावी गर्नेहरुको नाम चर्चामा आउन थालेका हो ।
चुनाव नजिकै हुँदै जाँदा विभिन्न पार्टीहरु आआफ्नो संगठनलाई मजबुद पार्न संगठन सुदृढिकरण गर्दै उम्मेदवार छनौटका साथै आन्तरिक तयारीमा जुटेका छन् । यस कञ्चनरुप नगरपालिकामा स्थानीय तहको चुनावको पूर्व तयारीका लागि राजनैतिक पार्टीहरुले आआफ्नो पार्टीको गतिविधिलाई तिब्रता दिन थालेका छन् । चुनावको चहल पहलसँगै उम्मेदवारको घोषणा गर्ने देखि प्रमुख/ उप–प्रमुख पदका आकांक्षीहरु बढ्नथालेपछि नगरपालिकामा चुनावी माहोल तात्न थालेको छ ।
कञ्चनरुप नगरपालिकामा नेकपा (एमाले) बाट वर्तमान नगर प्रमुख बसन्त कुमार मिश्र, समाजसेवी गिरिराज संग्रौला, मो. कलिम राइन, भुवन बहादुर केसी, शिवनारायण साह, बच्चुलाल चौधरी, माधव चौधरी र श्याम पोखरेलको नाम प्रमुखमा चर्चामा आएको छ भने उप–प्रमुखमा आशरा देवी चौधरी, कल्पना चौधरी, ईश्वरी पोखरेल, सविता न्यौपानेको नाम चर्चामा छ ।
त्यस्तै नेपाली काँग्रेसबाट ललनप्रसाद गुप्ता र वर्तमान नगर उप–प्रमुख निरु पोखरेल नगर प्रमुखमा आकांक्षी देखिएका छन् भने उप–प्रमुखमा अहिलेसम्म कसैको नाम चर्चामा आएको छैन् ।
यसैगरी माओवादी केन्द्रबाट बंसी चौधरी, सत्यनारायण चौधरी, मनोज चौधरी , रामविहारी राउत नगर प्रमुखमा आकाँक्षी देखिएका छन् भने भुवनेश्वरी देव र ममता सरदारको नाम उप–प्रमुखमा चर्चामा रहेको छ ।
जनता समाजवादी पार्टी नेपालबाट भोला पासवान, रामेश्वर कौडगिया र सुदम्बर यादवको नाम प्रमुखमा चर्चामा आएको छ भने उप–प्रमुखमा संगिता ठाकुर र कल्पना चौधरीको नाम चर्चामा आएको छ ।
त्यस्तै जनमत पार्टीबाट इनरदेव कौडगिया प्रमुख र सम्झना मगर उप–प्रमुखको रुपमा आकांक्षि देखिएका छन् ।
सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि दलहरु जनता तथा मतदातालाई आफ्नो पक्षमा पार्न दलहरु आन्तरिक तयारीको साथ सक्रिय रुपमा चुनावको तयारी र संगठन विस्तारमा लागेका छन् ।
सरकारले वैशाख ९ गते उम्मेदवारी दर्ता १५ गते अन्तिम नामावली प्रकाशनको तयारी गरेको छ भने ३० गते मतदानको समय तोकेको छ । कञ्चनरुप नगरपालिकामा नेकपा (एमाले), नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र माओवादी केन्द्र पार्टी बीच कडा प्रतिस्पर्धा हुने राजनैतिक विश्लेषकहरु बताउछन् ।
Add Comment