समाज

“विद्यालयमा अनुशासनको महत्व” शिर्षकमा वक्तृत्वकला प्रतियोगिता ,पुष्पराज अमात प्रथम

राजविराज, २ चैत । बाल अधिकार चेतना समूहको कार्ययोजनामा मंगलवार सप्तरीको विष्णुपुर गाउँपालिकास्थित जनता माध्यमिक विद्यालय इटहरी विष्णुपुरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा पुष्पराज अमात प्रथम भएका छन् । हरेक मानिसले अनुशासनको पालना गरे मात्र ऊ सभ्य र महान् व्यक्ति कहलाउँछ भन्दै अमातले प्रथम पुरस्कार जितेका हुन् ।
‘जीवनमा अनुशासनको पालना गरी विद्यालयको वातावरणलाई सहज र सुन्दर बनाउँदै पढ्ने विद्यार्थी मात्र लगनशील तथा मिहिनेती भएर राम्रोसँग विद्या आर्जन गर्न सक्दछ ।’ अमातले भन्नुभयो–‘विद्यार्थी जीवन भनेको जीवनको पहिलो खुट्किलो हो तसर्थ अनुशासनको पालना गर्ने विद्यार्थी पहिलादेखि नै असल लक्षणले युक्त भएर अगाडि बढ्छ ।’

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश जनकपुरधामद्वारा सञ्चालित इएलपी परियोजनाअन्तर्गत स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रमअन्तर्गत “विद्यालयमा अनुशासनको महत्व” शिर्षकमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि अधिकारकर्मी एवम् साहित्यकार मनोहर पोखरेलले विद्यार्थी जीवनमा अनुशासनको पालना गर्नेले राष्ट्रको असल नागरिक भएर स्वास्थ्य, शिक्षा, समाजसेवा, राजनीति, उद्योग, वाणिज्य आदि क्षेत्रमा देश विकासमा महत्वपूर्ण योगदान दिइरहेको बताउनु भयो । अनुशासन मानवजातिको सर्वोत्तम गुण भएकाले त्यस्ता व्यक्तिलाई सबैले मन पराउने र अनुशासित व्यक्ति नै आदर्श आचरणले योग्य बन्ने पोखरेलले बताउनुभयो ।

जनता माध्यमिक विद्यालय इटहरी विष्णुपुरका प्रधानाध्यापक कुशेश्वर मण्डलले अनुशासनको पालना गर्ने व्यक्तिले समाजमा उच्च पद र प्रतिष्ठा प्राप्त गर्ने बताउनु भयो । घरपरिवारदेखि समाज, धर्म, संस्कृति, राजनीति, वित्त आदि सबै क्षेत्रमा अनुशासन कायम रहेमा असल संसार बन्ने उहाँले बताउनु भयो ।
प्रतियोगितामा प्रथम भएका अमात, द्वितिय भएका आनन्द ठाकुर, तृतीय हुने प्रकाश कुमार मण्डल र सान्तवना प्राप्त गर्ने रोशन कुमार मण्डललाई प्रमुख अतिथि पोखरेल, प्रधानाध्यापक मण्डल, वडा सदस्य रामकुमार राय र शिक्षक सरोज चौधरीले डिक्शेनरी, व्याकरण, कम्प्युटरका पुस्तकहरू वितरण गर्नुभयो ।
मानव अधिकार निगरानी समूहका सहसचिव रामकुमार रायको अध्यक्षता र सहजकर्ता दिपककुमार यादवको सञ्चालनमा भएको प्रतियोगितामा विद्यालयका १४ जना बिद्यार्थीले भाग लिएका थिए । कार्यक्रममा शिक्षकहरू गंगालाल यादव, रामदेव साह, उमेशकुमार यादव, महेन्द्र मण्डलले विद्यालयमा अनुशासनको महत्वबारे बोल्नु भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page