समाचार

हाम्रो सप्तरीलाई राम्रो सप्तरी बनाउनेमा पत्रकारहरुको सहयोग अपरिहार्य : नगरप्रमुख मिश्र

राजविराज, २९ चैत । सप्तरीको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख वसन्त कुमार मिश्रले हाम्रो सप्तरीलाई राम्रो सप्तरीमा रुपान्तरण गर्न सञ्चारकर्मीहरुको सहयोगी भुमिका अपरिहार्य हुने बताउनु भएको छ ।
कञ्चनरुप नगरपालिकाको सहयोग तथा नेपाल पत्रकारमहासंघ सप्तरीको आयोजनामा राजविराजमा मंगलबार आयोजित पत्रकार आचारसंहिता सम्बन्धि कार्यशालालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख मिश्रले विकास, सुशासन र समृद्व समाज निर्माणमा पत्रकारहरुको भुमिका अपरिहार्य भएको बताउनुभयो । विकास र सुशासन कायम गर्न पत्रकारहरुले खबरदारी गर्न अति आवश्यक छ, नगरप्रमुख मिश्राले भन्नुभयो, हाम्रो सप्तरीलाई राम्रो सप्तरी बनाउन सञ्चारकर्मीहरुको सहयोग अपरिहार्य हुन्छ ।

नगरप्रमुख मिश्रले देशमै भ्रष्टाचार विरुद्ध सुन्य सहनशिलता राख्ने ब्यक्ती भएको दावी गर्नुभयो । म भ्रष्टाचार विरोधी मेयर हो, उहाँले भन्नु भयो, मैले भ्रष्टाचार गरेको आधार प्रमाण सहित आए तत्कालै पदबाट राजीनामा दिन्छु । पत्रकार मित्रहरुले मेरो बारे सकारात्मक वा नकारात्मक समाचार सम्प्रेषण गरेर सहयोग गरेकोमा खुशी व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख मिश्रले पत्रकाररितालाई तथ्यमा आधारित रहेर समाचार सम्प्रेषण गरे पत्रकारहरुको मर्यादा थप उच्च हुने बताउनुभयो । नगरप्रमुख मिश्रले स्थानीय तहमा भएका बेथिति र अनियमिततालाई पत्रकारहरुले उजागर गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रेस काउन्सिलका पूर्व अध्यक्ष राजेन्द्र दाहालले पत्रकार आचारसंहिता पालनाले आफैंलाई फाईदा पुग्ने बताउनुभयो । पत्रकार आचारसंहितामा पालना गर्नु पत्रकारहरुको दाईत्व भएको बताउँदै उहाँले आचारसंहिताले पेशालाई मर्यादित र सम्मानित बनाउने हुदा सबैले आफैंमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै हरेक पेशाको आफ्नो धर्म हुने र त्यसलाई पालना गरेमा सबैको भलो हुने बताउनु भयो।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य अबधेश कुमार झाले निर्वाचन आचारसंहितामा शुरु भएको अबस्थामा कार्यक्रम गर्नु सान्दर्भिक नहुने टिप्पणी गरे । नेपाल पत्रकार पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवको अध्यक्षतामा आयोजित कार्यशालामा पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह, सप्तरी शाखाका पूर्व अध्यक्ष एवम प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा, मुरली प्रसाद यादव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाल पत्रकार महासंघ सप्तरीका सचिव रामनारायण विश्वासद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष बैधनाथ झाले गर्नुभयो । सप्तरीमा राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यमा कार्यरत पत्रकारहरु सहभागी कार्यशाला गोष्ठीको सहजीकरण काउन्सिलका पूर्व अध्यक्ष वरिष्ठ पत्रकार राजेन्द्र दाहालले गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page