डम्बर राई /
कञ्चनरुप, बैशाख ४ गते । प्रेस चौतारी नेपाल सप्तरी शाखाले मधेश प्रदेश चुनाव प्रचार प्रसार रणनीतिमा महत्वपूर्ण भुमिका खेल्ने भएको छ ।
यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेलाई मधेश प्रदेशमा अग्रस्थानमा ल्याउन शाखाले शनिवार यस्तो निर्णय गरेको हो ।
जिल्लाको कञ्चनरुप नगरपालिका ८ स्थित नगरपार्टी कार्यालय कञ्चनपुरमा पार्टीका नेता तथा १८ वटै पालिकाका पार्टी अध्यक्ष तथा सचिवहरुसंग चौतारीको आयोजनामा बसेको बैठकमा शाखाका सञ्चारकर्मीहरुको चुनावी प्रचार प्रसार रणनीतिक र जिम्मेवारी तोकिएको छ ।
सप्तकोशी नगरपालिकामा शिव आचार्य, भगवती मण्डर थारु, कञ्चनरुप नगरपालिकामा उत्सव आचार्य र उत्तम आचार्य, हनुमाननगर कंकालिनी नपा र तिरुहुत गाउँपालिकामा भुपदेव माली र रवि शर्मा, कोइलाडी तिलाठी, विष्णुपुर, मधवापुर गाउँपालिकामा नविन यादव र पिन्टु यादव, राजविराज नगरपालिका, छिन्नमस्ता गाउँपालिका र डाक्नेश्वरी नगरपालिकामा मनोहर पोखरेल, पुनम पोखरेल र सुखराम यादवलाई जिम्मेवारी तोकिएको छ ।
यसैगरी अग्नीसाइर कृष्णासवरन, रुपनी गाउँपालिका, शम्भुनाथ, खडक, बलानविहुल, बोदेबर्साइन नगरपालिका र राजगढ गाउँपालिकामा चौतारीका केन्द्रिय सदस्य खगेन्द्र कार्की र जिल्ला कार्यवाहक अध्यक्ष डम्बर राईले स्थानिय संचारकर्मीहरुलाई सहयोग पुर्याउने छन् भने सुरुङ्गा नगरपालिकामा अनिता चौधरी रहने छन् ।
सो बैठकमा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज दिवाकर देवकोटाले सप्तरीमा मात्र नभई मधेश प्रदेशमै नेकपा एमाले अग्रस्थानमा आउँने ठोकुवा गर्नुभयो । बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा अन्य पार्टीहरु एमालेसंग प्रतिस्पर्धा गर्न नसक्ने भएकाले गठबन्धनको तयारीमा पुगेको बताउँनुभयो ।
बैठकको प्रमुख अतिथीको आसनबाट देवकोटाले भन्नुभयो, उनीहरू गठबन्धन गरेर चुनावमा आएकै हामीलाई फाइदा हुनेछ । संगठनमा आवद्घ संचारकर्मीहरुले यतिबेला लगनशिल भएर प्रचार प्रसार तथा समाचारमा ध्यानकेन्द्रित हुन जरुरी रहेको औल्याउनुभयो ।
प्रदेश सदस्य तथा कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले यतिबेला हामीहरु एक भएर पार्टी विजय गराउने अभियानमा जुट्नु पर्नेबेला आएकोले एक आपसमा कुनै बैमन्यजस्यता नराखौं भन्नुभयो । उम्मेदवारीको हकमा उहाँले भन्नुभयो जनप्रभावित र दक्ष व्यक्तिलाई पार्टीले टिकट दिनेहो यसमा मलाई भएन भनेर दुख मान्ने कुरैछैन । जो उम्मेदवारी भएपनि पार्टीलाई जिताउने कर्तव्यमा हामी लागौं अधिकांश पालिकामा यस पटक नेकपा एमालेको विजय हुनेछ प्रदेश सदस्य मिश्रले भविश्यवाणी गर्नुभयो ।
सप्तरी जिल्ला पार्टी सचिव देवनाथ यादवले चुनावी रणनीति र १८ वटै पालिकामा पार्टीको अवस्थावारे जानकारी दिनुहुदै संचारकर्मीहरुको आवश्यकता र महत्वमाथी प्रकाश पार्नुभयो । उहाँले संचारकर्मीहरुलाई चुनावी प्रचारप्रसार अभियानमा जुट्न आग्रह गर्नुहुदै सत्यतथ्यमाथी ध्यान पुर्याउँन संचारकर्मीहरुलाई सुझाव समेत दिनुभयो ।
शाखाका कार्यवाहक अध्यक्ष डम्बर राईको अध्यक्षता रहेको सो बैठकको औचित्यता र मधेश प्रदेश चुनावी रणनीति अभियानमा प्रेस चौतारी नेपालको भुमिका लगायत विषयमाथी चौतारीका केन्द्रिय सदस्य खगेन्द्र कार्कीले प्रष्ट्याउँनुभएको थियो ।
बैठकमा पार्टी केन्द्रिय कमिटी सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारी एवं सदस्यहरु, नगर र गाउपालिका कमिटीका जिम्मेवार व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
Add Comment