राजनीति

सप्तकोसीमा दलहरुलाई उम्मेदवार छान्न सकस,भागबन्डा मिलाउन नसक्दा गठबन्धनको सम्भावना न्यून

कञ्चनरुप (सप्तरी) । सप्तरीसहित देशैभरी अहिले चुनावको माहोल छाएको छ । आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन सुनिश्चित भएसँगै बिभिन्न पार्टीबाट उम्मेदवारहरुको नाम चर्चा हुन थालेको हो।
स्थानीय राजनीतिक दलहरु चुनावी तयारीका लागि व्यस्त हुन थालेका छन् ।
यही बीच सप्तरीको सप्तकोसी नगरपालिकामा स्थानीय तहको निर्वाचनमा दलहरुलाई उम्मेदवार छान्न सकस परेको छ।
सप्तकोसी नगरपालिकामा रहेका विभिन्न राजनैतिक दलहरुबाट मेयर, उपमेयर ,वडा अध्यक्ष लगायतका पद मा उम्मेदवारको आकाङ्क्षा राख्नेहरु धेरै भएका कारण दलहरुलाई आआफ्नो पार्टीबाट उम्मेदवार छान्न सकस परेको स्थानीय एक नेताले बताए ।
नगरप्रमुख पदमा विभिन्न पार्टीबाट एक दर्जन ब्यक्तिको नाम चर्चामा रहेको छ । स्थानीय राजनैतिक दलहरु चुनावी तयारीका लागि ब्यस्त हुन थालेका छन् । चुनावी चहलपहलसँगै दलहरुले साँगठनिक गतिविधिलाई तीब्र पारेका छन् । एकै पदमा धेरै संख्यामा उम्मेदवारहरुले आकाँक्षा राखेपछि दलहरु उम्मेदवारहरुलाई मिलाएर सर्वसम्मतका लागि आन्तरिक कसरत र छलफललाई तीब्र रुप दिएका छन् ।
सप्तकोसी नगरपालिकामा नेकपा एमाले पार्टीबाट वर्तमान नगर प्रमुख उत्तम कुमार शर्मा र पारस दाहाल गरि दुई जनाले आफू नगर प्रमुखको उम्मेदवार रहेको दाबि गरेका छन् भने दुबै जनाको पछाडि हट्ने मनस्थिति नभएकाले एमालेलाई उम्मेदवार छान्न सकस परेको छ ।
नेकपा एमाले नगरकमिटि सदस्य शिव प्रसाद आचार्यका अनुसार नेकपा एमाले सप्तकोसी नगरकमिटि सर्वसम्मत एक जना मात्र उम्मेदवारको नाम सिफारिस गरेर माथि पठाउने कसरतमा रहेको छ ।
यसैगरी नेपाली काँग्रेसबाट गत स्थानीय तह निर्वाचनमा मेयरपदमा पराजय भोगेका कृष्ण ढकाल ,अशोक चौधरी र चन्द्र शेखर चौधरी गरि ३ जनाले मेयर पदको उम्मेदवारी दाबि गरिरहेका छन् ।
नेपाली काङ्ग्रेसमा ३ जनाले उम्मेदवारी दाबि गरेपछि नगरकमिटि सर्बसहमत एक जनाको नाम सिफारिस गर्ने कसरतमा लागेको स्थानीय नेता गणेश पौडेलले बताए। एमाले नेपाली काङ्ग्रेसमा मात्र हैन नेकपा माओवादी केन्द्रमा पनि त्यस्तै किचलो रहेको छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा मेयरका प्रत्यासि ध्रुब कार्की ,शम्भु बहादुर खडका , रबिन्द्र चौधरी गरि ३ जनाले मेयर पदमा आआफ्नो दाबि गरेर पछि नहटेकाले कस्को नाम सर्वसम्मत सिफारिस गर्ने भन्नेमा सकस भएको र निरन्तर छलफल भै रहेको नगर कमिटी सदस्य राजकुमार केसीले बताए।
सप्तकोसीमा नगर प्रमुख पदमा मात्रै हैन वडा अध्यक्ष वडा सदस्य पद मै सर्बसहमत उम्मेदवारी छनौट गर्न दल हरुलाई सकस परेको छ । स्थानीय तहमा निर्बाचित जनप्रतिनिधिहरुलाई राज्यले सेबा सुबिधा उपलब्ध गराउने भएकाले पनि पार्टीका नेता कार्यकर्ताहरु उम्मेदवार बनि निर्बाचित भै सेबा सुबिधा लिने होडमा एउटै पदमा धेरै जनाको उम्मेदवारी पर्ने गरेको स्थानीय धर्म बहादुर खत्रीले बताए।
एकीकृत समाजबादिबाट हाल वडा नम्बर १ का वडा अध्यक्ष नारायण प्रसाद आचार्यको नाम चर्चा मा छ भने जसपाबाट पार्टीका नगर अध्यक्ष राम कुमार यादव, पूर्व जिल्ला सदस्य दीप नारायण साह र नगर उपाध्यक्ष कमल नारायण साहले आफ्नो उम्मेदवारी दाबि गरेका छन् ।
सप्तकोसी नगरपालिकामा निर्वाचनको मिति २६ दिन मात्र बाँकी हुँदा चुनावी सदगर्मी बढेता पनि कुनै दलले आफ्नो उम्मेदवार घोषणा गर्न सकेका छैनन् ।
निर्वाचन आयोगले बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता, १५ गते अन्तिम नामावली प्रकाशनको तयारी गरेका छ भने ३० गते मतदानको समय तोकेको छ । सप्तकोसी नगरपालिकामा सत्तारुढ नेकपा एमाले, नेपालि काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजबादि , जसपा बीच प्रतिस्पर्धा हुने राजनैतिक विश्लेषकहरु बताउछन् ।
संघिय सरकार गठबन्धनले निर्माण भएकाले स्थानिय निर्बाचनमा पनि गठबन्धन गरेर जाने भन्ने ५ दलिय गठबन्धनको निर्णय भएता पनि स्थानीय तहमा उम्मेदवार भागबन्डा मिलाउन नसकेका कारण सप्तकोसीमा गठबन्धनको सम्भावना न्युन हुदै गएको नेताहरुको भनाइ छ ।
सप्तकोसीमा गठबन्धन भए एमाले बाहेक नेपाली काङ्ग्रेस ,माओवादी केन्द्र ,एकीकृत समाजबादि ,जसपा बिच गठबन्धन हुने देखिन्छ यसरि गठबन्धन भए सप्तकोसीमा गठबन्धनलाई उम्मेदवार छान्न झन सकस पर्ने देखिन्छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page