समाचार

राजविराजमा बाल अधिकार चेतना समूहको कार्य योजनाअनुसार वक्तृत्वकला प्रतियोगिता

राजविराज, वैशाख ८ गते । सप्तरीको राजविराज नगरपालिकास्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
बाल अधिकार चेतना समूहले तयार पारेको कार्ययोजना अनुसार आज बिहीबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश जनकपुरधामद्वारा सञ्चालित इएलपी परियोजनाअन्तर्गत स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रमअन्तर्गत बाल अधिकार चेतना समूहको कार्य योजनाअनुसार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
कार्यक्रममा इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकारलाई बालअधिकार सम्बन्धि महासन्धिले बालबालिकाको आधारभुत अधिकारको रुपमा ब्यवस्था गरेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि रहेका पोखरेलले सबै बालबालिकाले विना भेदभाव, विना पक्षपात सम्पूर्ण अधिकारहरु पाउनु पर्ने बताउँदै बालबालिकाहरुका निम्ति गरिने प्रत्येक कार्यहरुमा बालबालिकाको सर्वोत्तम हितलाई राज्यले प्राथमिकता दिनुपर्ने बताए ।
बालबालिकालाई समाजको अभिन्न अंग मानी हरेक गतिविधिमा सहभागी गराइनु पर्ने र बालबालिकासँग सम्बन्धित विषयमा उनीहरुले आफ्नो विचार ब्यक्त गर्नु पर्ने नगरस्तरीय मानव अधिकार निगरानी समूहका अध्यक्ष रघुबर साहले बताए ।
विद्यालयका ११ जना सहभागी प्रतियोगितामा नेहा झा प्रथम, शोभाकान्त यादव द्वितिय, मेघाकुमारी यादव तृतीय र प्रियान्सुकुमारी यादवले सान्तवना पुरस्कार प्राप्त गरिन् ।

विजेताहरूलाई डिक्शनरी, व्याकरण, कम्प्युटरका पुस्तकहरू वितरण गरिएको थियो ।
प्रमुख अतिथि पोखरेल, निगरानी समूहका अध्यक्ष साह, एकल महिला समूहकी प्रदेश अध्यक्ष अनीता देवकोटा र शिक्षक गिरीराज पौडेलको लगायतको उपस्थितिमा भएको कार्यक्रमको अध्यक्षता समूहका अध्यक्ष साहले गरेका थिए ।
आयोजित वक्तृत्वकला प्रतियोगितामा निगरानी समूहका सचिव दिनानाथ यादव, कोषाध्यक्ष पुनम पोखरेल, सदस्य सीता यादवलगायतले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page