राजनीति

सप्तरीमा सयौं कम्युनिष्ट योद्धाहरुलाई सम्मान गर्दै ७४ औं कम्युनिष्ट स्थापना दिवस मनाइयो

राजविराज, ९ वैशाख । सप्तरीका विभिन्न पालिकामा नेकपा (एमाले) ले शुक्रबार कम्युनिष्ट योद्धाहरूको सम्मान गर्दै पार्टी स्थापना दिवस मनाएको छ ।
कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा राजविराजस्थित मदननगर पार्टी कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा नगर कमिटिले सयौं कम्युनिष्ट योद्धाहरूलाई सम्मान गरेको छ ।
नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं सप्तरी जिलला ईन्चार्ज दिवाकर देवकोटा र राजविराज नगरपालिकाका मेयर पदका उम्मेदवार अनिलकुमार झाले उहाँहरूलाई गम्छा र रातो टिका लगाएर सम्मान गरेका छन् ।
उक्त अवसरमा गत स्थानीय तहको निर्वाचनमा नेकपा माओवादीबाट राजविराज नगरपालिका–९ मा वडा अध्यक्ष पदका उम्मेदवार कुदुस मियाँ, रफिद मियाँलगायत दर्जन बढी व्यक्तिले एमाले प्रवेश गरेका छन् ।

कम्युनिष्ट पार्टी स्थापना दिवसकै अवसर पारेर स्थानीय तह निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक पनि भएको छ । मेयर पदका उम्मेदवार अनिल झाले आफ्नो विकास हुने तर समाजको विकास नहुने विद्यमान राजनीतिलाई परिवर्तन गर्ने अठोठ लिएर उम्मेदवारी दिने तयारी गरेको बताए । व्यवस्था परिवर्तन भए पनि दृढ इच्छाशक्ति भएको दुरदर्शी, इमान्दार व्यक्तिहरू निर्वाचित नभएकाले व्यक्तिको विकास भएपनि शहर उस्तै रहेको बताएका थिए ।
दिगो विकासको लक्ष्य प्राप्त गर्न असल, शिक्षित, दुरगामी तथा दुरदृष्टि भएको नेतृत्व आवश्यक रहेको बताउँदै झाले राजविराज नगरपालिकाको सर्वाङ्गिण विकासको आवश्यक्तालाई हृदयङ्गम गर्दै अन्य उम्मेदवारहरूको भिंडमा अलग पहिचान बनाई सदैव आफूलाई नगर र नगरवासीप्रति समर्पित राख्दै जनसेवकको रूपमा कार्य गर्ने प्रतिबद्धता जनाए ।
गौरवपूर्ण नगरको गौरवशाली नगरवासीको रूपमा स्थापित गरी देखाउन समर्पित हुने वाचा गर्दै झाले अवसर प्राप्त भएमा सकारात्मक विचार एवम् जनमैत्री सोचाईका साथ प्रदेशकै नमुना, उत्कृष्ट पालिकाको रूपमा स्थापित गर्ने बताए । जिल्लाका अन्य पालिकासँग सहकार्य गरेर एकरूपता विकासको नेतृत्व गर्ने बताउनु भएका झाले निर्वाचित भएर सेवक बन्ने र जनतासँग जोडिएरै काम गर्ने बताए । प्रशासनलाई सेवामुखि र राजनीतिलाई जनमुखि बनाएर जनतामा व्याप्त निराशा हटाउने प्रतिबद्धता गर्दै उनले स्थानीय निकायबाट स्थानीय सरकार बनि सकेपनि पुरानै अव्यवस्था दोहोरिएकाले त्यसबाट मुक्ति दिलाउँदै व्यवस्थित सुन्दर शहर बनाउन कृत संकल्पित रहेको बताए ।

त्यस्का लागि उनले शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, कृषि, सिंचाई, सडक, उद्योग, व्यापार, युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक, खेलकुद, जिवीकोपार्जन पर्यावरण तथा वातावरण, आप्रवासन÷वैदेशिक रोजगारी, यातायात ब्यवस्थापन, विपद् व्यवस्थापन, ऐतिहासिक, धार्मिक, साँस्कृतिक, सूचना प्रविधि, शहरीकरण तथा आवास, सामाजिक सुरक्षा र अन्य भौतिक पुर्वाधारका विषयमा गरिने योजनाहरूबारे उनले चर्चा गरे।
नगर कमिटि अध्यक्ष रन्जन झाको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य दिवाकर देवकोटा, मधेस प्रदेश कमिटि सदस्य हिरण्य गुप्ता, जगदीश साह, सुखराम यादव, सुरेश सिंह, जिल्ला सहसचिव अखिलेश झा, नगर इन्चार्ज मो. सलिम, जिल्ला सदस्य सबिता साह, बुद्धिजिवी परिषद्का केन्द्रीय उपाध्यक्ष डा. कमानन्द देव, केन्द्रीय सदस्य कविता प्रमाणीलगायतले सम्बोधन गर्नुभयो ।
निरंकुश जहानियाँ राणा शासनकै बेला विक्रम संवत् २००६ साल बैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाईमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द बैद्य, नारायणविलास जोशी, मोतीदेबी श्रेष्ठको सक्रियतामा नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page