समाचार

सप्तरीमा आचारसंहिता बिपरित सार्वजनिक ठाउँमा लगाएको प्रचारप्रसार सामग्री हटाउन सुरु

राजविराज । सप्तरीमा राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरुले निर्वाचन आचारसंहिता बिपरित सार्वजनिक ठाउँमा लगाएको प्रचारप्रसार सामग्री प्रहरीले हटाउन सुरु गरेको छ।
सप्तरीका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीको अध्यक्षतामा आज बसेको बैठकले निर्वाचन आचारसंहिता उल्लंघन गरि लगाएको दलका प्रचारप्रसार सामग्री हटाउने निर्णय गरेको थियो।
वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको प्रचार प्रसारमा सप्तरी जिल्लामा निर्वाचन आचारसंहिता व्यापक उल्लंघन भईरहेको र आचार संहिता विपरीत राजनीतिक दलहरुले डिजे बाजा सहित संगित प्रचार,निर्वाचन चिन्ह अंकित भेष्ट,ज्याकेट,लोगो,टोपी र स्टिकरहरु प्रदर्शन गरिरहेका छन्।
निर्वाचन आचारसंहिता २०७८ ले सार्वजनिक ठाउँमा राजनीतिक दल,दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले आचारसंहिता उल्लंघन हुनेगरी प्रचारप्रसार सामग्री झुन्ड्याउन निषेध गरेको छ। सोही व्यवस्था अनुरुप आयोगले राजविराजमा अनुगमन गरेको थियो। अनुगमन प्रतिवेदन अनुसार व्यापक रुपमा आचारसंहिता उल्लंघन गरेको आयोगको ठहर छ।
सार्वजनिक ठाउँमा झुन्डिएको प्रचारप्रसार सामग्री नलगाउन राजनीतिक दललाई आग्रह गरिने आयोगले जनाएको छ। यदि आग्रहलाई अवहेलना गरि सार्वजनिक ठाउँमा त्यस्तो प्रचारप्रसार सामग्री लगाएको पाइएमा प्रहरीले हटाउने भनिएको छ।
बैठकमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, नेपाल तथा सशस्त्र प्रहरीका अधिकारी, जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेश जोशीसहितको सहभागिता रहेको थियो ।

   

You cannot copy content of this page