समाचार

सप्तरीका सबैजसो मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिए, निर्वाचनको तयारी अन्तिम चरणमा

कञ्चनरुप(सप्तरी), २८ वैशाख । सप्तरीका सबैजसो मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिन थालेका छन् ।
जिल्लाका २९७ मतदानस्थलका ५३६ मतदान केन्द्रमा आज साँझसम्म कर्मचारी र सुरक्षाकर्मी पुगेर मतदानको तयारी गरिरहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरीमा २०८ अतिसंवेदनशील, ८५ संवेदनशील र चार मतदानस्थल सामान्य रहेको छ । जिल्लाको ९ नगरपालिका र ९ गाउँपालिकाको २९७ मतदानस्थलमा व्यवस्था गरिएको ५३६ मतदान केन्द्रका लागि ५३६ मतदान अधिकृत र सो सङ्ख्यामा सहायक मतदान अधिकृत खटिएका छन् ।
मतदानका लागि आवश्यकपर्ने मतपत्र, मतपेटिका, मतदाता नामावलीलगायत सबै सामग्री लिएर मतदान केन्द्रतर्फ कर्मचारी खटिइसकेका जिल्ला निर्वाचन कार्यालयका अधिकारी रमेश जोशीले जानकारी दिनुभयो ।
निर्वाचन सुरक्षित र मर्यादित बनाउन प्रत्येक मतदानस्थललाई केन्द्रित गर्दै ७०० नेपाली सेना, ६०० सशस्त्र प्रहरी र एक हजार ५९४ नेपाल प्रहरी तथा दुई हजार ९४८ म्यादी प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।
मतदानको मिति नजिकिँदै गर्दा सुरक्षा र अन्य व्यवस्थापकीय तयारीलाई चुस्त पारिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो । निर्वाचनको तयारी अन्तिमचरणमा पुगेको उहाँले बताउनुभयो ।
जिल्लाका १८ स्थानीय तहमा चार लाख १२ हजार ४४५ ले मतदान गर्न पाउने भएका छन् । महिला एक लाख ९८ हजार ५३२, पुरुष दुई लाख १३ हजार ८९२ र २१ अन्य मतदाताले मतदान गर्न पाउने भएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page