राजनीति

सप्तकोशी नगरपालिकाको नगर प्रमुखमा नेपाली काङ्ग्रेसका कृष्णप्रसाद निर्वाचित

कञ्चनरुप, ३ जेठ । सप्तरीको सप्तकोशी नगरपालिका नगर प्रमुखमा नेपाली काङ्ग्रेस उम्मेद्वार कृष्णप्रसाद ढकाल विजयी भएका छन ।
निवर्तमान नगर प्रमुख उत्तमकुमार शर्मालाई पराजित गर्दै नगर प्रमुखमा कृष्णप्रसाद ढकाल विजयी हुनुभएको हो ।
नगर प्रमुखमा ढकालले ४ हजार ४६९ मत ल्याएर निर्वाचित हुनुभएको निर्वाचन समितिको कार्यालयले जनाएको छ । निर्वाचित प्रमुख ढकालले निवर्तमान नगर प्रमुख उत्तमकुमार शर्मालाई १ हजार ५०२ मत अन्तरले पराजित गर्दै विजय हासिल गर्नुभएको हो । एमालेका शर्माले २ हजार ९६७ मत ल्याएका छन् ।
एमालेका शर्मा २०७४ को स्थानीय तहको निर्वाचनमा ३ हजार ३९ मत ल्याई प्रमुखमा निर्वाचित हुनुभएको थियो ।
त्यसैगरी सप्तकोशी नगर उपप्रमुखमा कांग्रेसकै रीताकुमारी चौधरी निर्वाचित हुनु भएको छ । रीताले ३ हजार ९५८ मत ल्याएर एमालेकी संगिताकुमारी चौधरीलाई पराजित गर्नुभएको हो । एमालेकी संगिताले ३ हजार २ सय मत ल्याउनु भएको छ ।
कांग्रेसबाट वडा नम्बर १ मा रोहिणीप्रसाद पोखरेल, ४ मा जयराम खंग, ५ मा गोसाइ चौधरी, ७ मा जितन चौधरी, ९ मा राजेन्द्रकुमार यादव र १० मा हरीलाल साह वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
एमालेबाट वडा नम्बर २ मा जाहिर हुसेन, ३ मा देवकान्त गोजेवार, ६ मा नन्दीलाल चौधरी र ११ मा डोलेश्वर खडका निर्वाचित हुनुभएको छ । वडा नम्बर ८ को वडा अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का केदारप्रसाद साह निर्वाचित हुनुभएको छ ।
यसअघिको निर्वाचनमा सप्तकोशीबाट बहुमतसहित नगर प्रमुख र उपप्रमुखमा एमालेले र ४ वटा वडा अध्यक्षमा माओवादी केन्द्रले जितेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page