सप्तरी, ३ जेठ । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका अध्यक्ष पदमा नेकपा (एमाले) का दिनानाथ चौधरी विजयी हुनुभएको छ ।
कुल १२ हजार ४ सय २५ खसेको मत मध्ये चौधरीले ४ हजार ८ सय ७४ मत प्राप्त गरि विजयी हुनुभएको हो ।
उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार परशुराम चौधरीलाई ९८६ मतान्तरले पराजित गर्नुभएको छ । चौधरीले ३ हजार ८ सय ८८ मत प्राप्त गर्नुभएको छ ।
तेस्रो स्थानमा रहेका नेकपा (माओवादी केन्द्र) का रघुकुमार सिन्हा १ हजार २७३ मत ल्याउनुभएको छ ।
कांग्रेसका परशुराम चौधरी २०७४ को स्थानीय तहको निर्वाचनमा ३ हजार ३९५ मत ल्याई अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
त्यसैगरी पालिका उपाध्यक्षमा नेपाली काँग्रेसकी कल्पना चौधरी विजयी हुनुभएको छ । उहाँले ४ हजार २ सय १६ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शैलेन्द्री कुमारी लेखी (थरुनी) ३ हजार ४ सय ५९ मत प्राप्त गर्नुभएको छ ।
६ वटा वडा रहेको सो पालिकामा ३ वटा वडाका अध्यक्षमा नेपाली कांग्रेस, २ वडाध्यक्षमा एमाले र एउटा वडाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ ।
गाउँपालिका अध्यक्षसहित एमालेबाट वडा नम्बर १ मा सवजुल खलीफा र ५ मा सबदुल मियाँ वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ । कांग्रेसबाट वडा नम्बर ३ मा गोपालप्रसाद चौधरी थारु, ४ मा तेजनारायण यादव र ६ मा अशोककुमार आचार्य वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । वडा नम्बर २ मा भने नेकपा (माओवादी केन्द्र) का पशुपतिप्रसाद चौधरी वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
यस गाउँपालिकामा कूल जनसंख्या ३२,०४७ रहेको छ भने कुल मतदाता संख्या १८,९३७ रहेको छ । जसमा ९,३१० पुरुष र ९,६२३ महिला रहेका छन् ।
Add Comment