राजविराज, ४ जेठ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीका तर्फबाट बिरेन्द्र माझी नगर प्रमुखमा निर्वाचित हुनुभएको छ ।
माझीले सुरुदेखि नै लिएको अग्रता अन्त्यसम्म कायम राखेर १ सय ६१ मत अन्तरले जित हाँसिल गर्नुभएको हो । माझीले ६ हजार ४०७ मत ल्याउनुभएको छ ।
निवर्तमान नगर प्रमुख शैलेशकुमार साह ६ हजार २४६ मतमा सिमित हुन पुग्दा प्रमुख पद गुमाउन पुग्नुभएको छ ।
त्यसैगरी कुल १४ वडा मध्ये उपप्रमुखसहित ७ वडामा भने जसपाले प्यानलसहित जित हाँसिल गरेको छ । उपप्रमुखमा सरीता सिपलिया यादवले ६ हजार २ सय ४६ मत ल्याई फेरि पनि निर्वाचित भएको छ । गत निर्वाचनमा समेत राजपाबाट ५ हजार ४१७ मत ल्याएर सिपलिया उपप्रमुख बन्नुभएको थियो ।
वडा अध्यक्षमा भने जसपा एक्लैले वडा नम्बर २, ३, ९, १०, १२, १३, १४ गरी सातवटा वडामा विजयी भएको छ । नगर प्रमुख निर्वाचित जनमत पार्टीले वडा नम्बर १ र ४ मा मात्र जित हासिल गरेको छ ।
तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले वडा नम्बर ५, ६, ७ र ११ तथा कांग्रेसले वडा नम्बर ८ को वडा अध्यक्षमा जित हाँसिल गरेको छ ।
पराजित साह मधेश प्रदेशको समाजिक विकासमन्त्री नवल किशोर साहका छोरा हुन् । गत स्थानीय तहको निर्वाचनमा साहले यिनै माझीलाई पराजित गरी नगर प्रमुख बनेका थिए । २०७४ को निर्वाचनमा राजपाबाट नगर प्रमुखमा निर्वाचित हुँदा साहले ५ हजार ७२० मत ल्याएका थिए ।
त्यतिबेला संघीय समाजवादी फोरमबाट उम्मेदवार भइ निकटतम प्रतिद्वन्द्वी रहेका माझीले ४ हजार ३६५ मत ल्याएका थिए ।
Add Comment