राजविराज, ८ जेठ । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा २५ वर्षका बिद्यानन्द चौधरी अध्यक्षमा निर्वाचित हुनुभएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार चौधरी १ हजार १२९ मतको अग्रतासहित विजयी हुनुभएको हो ।
जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख, गाउँपालिका निवर्तमान अध्यक्ष, गाविसका पूर्व अध्यक्षलगायत १२ जनालाई पछि पार्दै लोसपाका चौधरी अध्यक्ष निर्वाचित भएका हुन् । उहाँले २ हजार ८९५ मत ल्याउनुभयो ।
चौधरीका निकट्तम प्रतिद्वन्द्वी जसपाका सत्यनारायण यादवले १ हजार ७६६ मत ल्याउनुभयो । गाउँपालिकाका निवर्तमान अध्यक्ष सूर्यनारायण मण्डलले ८ सय र जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख प्रभाकर यादवको ८९८ मत मात्र आयो ।
त्यस्तै उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की राजुदेवी यादव ८७७ मतान्तरले विजयी हुनुभएको छ । यादव २ हजार ४७२ मत प्राप्त गरेर निर्वाचित हुनुभयो ।
उहाँको निकट्तम प्रतिद्वन्द्वी कांग्रेसकी प्रमिलादेबी साहले १ हजार ५९५ मत ल्याउनुभयो । एमालेकी ललितादेबी मेहताले १ हजार ५१३ मत ल्याउँदा लोसपाकी उषाकुमारी मण्डल र जसपाकी आशा साहले समान १ हजार ३८४ मत ल्याउनुभयो । उषाकुमारी मण्डल गत स्थानीय तह २०७४ बाट उपाध्यक्ष हुनुभएको थियो ।
जम्मा ७ वडा रहेको नगरपालिकामा एमाले र माओवादीले २÷२, जसपा, नेकपा (एस) र जनमतले १÷१ वडा अध्यक्षमा जित हासिल गरेको छ ।
Add Comment