कञ्चनरुप, ८ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शपथ ग्रहण गरेका छन् । नगरपालिकाद्वारा आइतबार आयोजित एक समारोहका बीच प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यले शपथ ग्रहण गरेका हुन् ।
निर्वाचन अधिकृतले निर्वाचित नगर प्रमुख ललनप्रसाद गुप्तालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । त्यसपछि नगर प्रमुख गुप्ताले नवनिर्वाचित उपप्रमुख मुनाकुमारी पोखरेल तथा कञ्चनरुप नगरपालिकाका १२ वटै वडाका जनप्रतिनिधिहरूलाई शपथ ग्रहण गराउनुभयो ।
शपथ ग्रहण गरेका वडाध्यक्षहरूमा वडा नम्बर १ का रब्बान खान, वडा नम्बर २ का मेहदी हुसेन, वडा नम्बर ३ का गुल्टेन चौधरी, वडा नम्बर ४ का जोगेन्द्र पासवान, वडा नम्बर ५ का कैलाशकुमार साह, वडा नम्बर ६ का बच्चुलाल चौधरी, वडा नम्बर ७ का समानन्द चौधरी, वडा नम्बर ८ का कृष्णप्रसाद साह , वडा नम्बर ९ का रामसुन्दर यादव, वडा नम्बर १० का दामोदर खड्गा, वडा नम्बर ११ का ललित गोजेवार र वडा नम्बर १२ का देवी बहादुर खत्री रहेका छन् ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख ललन प्रसाद गुप्ताले अब जनप्रतिनिधिहरुले पार्टी भन्दा माथि उठेर काम गर्नुपर्ने बताउँदै कञ्चनरुपलाई कसरी रुप सिंगार्ने त्यसतर्फ नवनिर्वाचित जनप्रतिनिधिहरुको ध्यान जानुपर्नेमा जोड दिनुभयो । गुप्ताले आफुले पाएको जनमतको सम्मान गर्दै अघि बढ्ने बताए ।
निर्वाचन अधिकृत हिमालयन बरालले शान्तिपूर्ण ढंगबाट निर्वाचन सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदै भोलि सोमवार कार्यपालिकाको निर्वाचन गर्न बैठक बस्ने बारेमा जानकारी गराउनु भयो ।
कार्यक्रमका वक्ताहरुले नव निर्वाचित जनप्रतिनिधिले जनमतको ख्याल राखी नगरवासीको हकहीत र नगरको समग्र बिकासमा ध्यान केन्द्रित गर्नु पर्नेमा जोड दिए ।
स्वागत मन्तव्य प्रमुख प्रशासकिय अधिकृत रेणुका साहले गर्नुभएको थियो भने निर्वाचन अधिकृत हिमालयन बरालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
Add Comment