राजविराज, ९ जेठ । सप्तरीको रुपनी गाउँपालिकाले नवनिर्वाचित जनप्रतिनिधिहरूको विजय उत्सव मनाउन सोमबार सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिका कार्यालयले नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशमा गाउँपालिकाभर नै सार्वजनिक बिदा दिइएको जनाएको छ ।
रुपनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दकुमार चौधरीले सोमबार बिहान सूचना प्रकाशित गर्दै सार्वजनिक बिदा दिइएको जनाएका हुन् ।
‘विजय उत्सव मनाउने प्रयोजनका लागि रुपनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष यादवको आदेशानुसार गाउँपालिका क्षेत्रभित्रका सरकारी कार्यालय, संघसंस्था, शिक्षण संस्था, स्वास्थ्य संस्थालगायत सम्पूर्ण कार्यालयहरू बन्द गरिएको छ।’ प्रकाशित सूचनामा छ । यादवले सोमबार दिउँसो शपथ ग्रहण कार्यक्रम गरिने बताए ।
आइतबार अपरान्ह सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार लोसपाले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र एउटा वडा अध्यक्षमा जीत हासिल गरेको छ ।
दिनेशकुमार यादव अध्यक्षमा र पुष्पाकुमारी श्रेष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।
Add Comment