समाचार

कञ्चनरुपका मेयर गुप्ताको प्राथमिकतामा स्वास्थ्य, शिक्षा, कृषि र व्यवसायसहित फ्री वाइफाइ

कञ्चनरुप, १० जेठ । सप्तरीको कञ्चनरुप नगरपालिकाका नवनिर्वाचित मेयर ललन प्रसाद गुप्ताले मंगलबार पदभार ग्रहण गर्दै स्वास्थ्य, शिक्षा, कृषि र व्यवसायसहित चार वटा कुरालाई महत्वपूर्ण विषयका रुपमा अगाडि सारेका छन ।
पदभार ग्रहण गर्दै मेयर गुप्ताले महिनाबारी प्याडको उद्योग स्थापना गरी नगरपालिका भित्रका सबै महिलालाई निःशुल्क प्याड उपलब्ध गराउने बताएका छन । गर्भवती महिलाको लागि अप्रेशन सहितको सेवा संचालन गर्ने र गरीब, दलित तथा विपन्न परिवारको स्वास्थ्य बीमा निःशुल्क गरिदिने समेत उल्लेख गरेका छन ।

नगरपालिकाभित्रका उत्कृष्ट १२ जना विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययन गर्नका लागि विशेष छात्रवृत्ति प्रदान गर्ने उनले प्रतिवद्धता जनाए । ३ जनालाई हेल्थ असिस्टेन्ट, ३ जनालाई इन्जिनियरिङ डिप्लोमा, ३ जनालाई स्टाफ नर्स र ३ जनालाई ल्याब टेक्निसियन अध्ययन गर्न विशेष छात्रवृत्ति प्रदान गर्ने बताए ।
विद्यालयमा प्राविधिक शिक्षा र अँग्रेजी माध्यमबाट पढाई संचालन गर्ने व्यवस्थाको साथै विद्यालयहरुलाई प्रविधि मैत्री बनाउँदै, शिक्षकहरुलाई तालिमको व्यवस्था गरी शैक्षिक गुणस्तरमा सुधार गर्ने बताए।

विपन्न, दलित वर्गका कृषकहरुलाई शत प्रतिशत अनुदानमा कृषि मिटर जडान गरिने, कृषकहरुलाई धान, गहुँ, मकै, तरकारी लगायतका कृषि उत्पादनमा वृद्धि गरी आतत्मानर्भर अनुदान, प्रोत्साहन सहितको कार्यक्रम ल्याउने समेत बताए।
अहिलेसम्म दर्ता तथा नवीकरण नभएका घ वर्गबाहेकका व्यवसायीलाई यो आ.ब.को असार मसान्तसम्म दर्ता तथा नवीकरण गराउन आएमा सम्पूर्ण रकम मिनाहा गरिने समेत घोषणा गरेका छन् ।
मेयर गुप्ताले प्रत्येक चोकमा सिसिटिभी जडान गर्दै वाइफाइ फ्री गरिदिने समेत घोषणा गरेका छन् ।

साथै, कार्यक्रममा सम्पुर्ण पूर्व जनप्रतिनिधीहरुलाई मायाको चिनो तथा सम्मानपत्र प्रदान गरिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page