समाचार

सामुदायिक वनका उपभोक्ताले लामो समयदेखि वनपैदावर उपभोग गर्न पाएन

डम्बर राई /
कञ्चनरुप ,जेठ १५ गते ।
सप्तरी डिभिजन वन अधिकृत हेमन्त साहले उपभोक्ताको हीतमा आफुले काम गर्ने बताएका छन् ।
वन उपभोक्ताहरुले लामो समय देखि वन संरक्षण सम्वर्धनमा काम गर्दै आउनेक्रममा पछिल्लो आठ वर्ष यता आएर आवश्यकतानुसार वनपैदावर उपयोग गर्न नपाएको भन्दै उनले उपभोक्ताको हीतमा काम गर्ने बताएका हुन् ।
शनीवार सव डिभिजन वन कार्यालय कञ्चनपुरमा आयोजित चुरे संरक्षण सम्बन्धि सरोकावालाहरुसंग अन्तक्रिया गोष्ठी कार्यक्रममा अधिकृत साहले सामुदायिक वन उपभोक्ता समूहहरुबाट सहभागी अध्यक्ष सचिव एवं प्रतिनिधिहरुबीच समस्या, चुनौती र तीनको समाधानको उपायवारेमा छलफल गरेका छन् ।
जिल्ला डिभिजन वन कार्यालय राजविराजको आयोजनामा संचालित सो कार्यक्रमको प्रमुख अतिथिको आसनबाट साहले चुरे दोहनका कारण, तिनबाट हुनसक्ने क्षति तथा समस्याको वारेमा प्रष्ट्याउदै वालुवा, गीटीको अवैध निकासीबाट भएको हानी नोक्सानीको केहि उदाहरणहरु पस्केका थिए ।
यस्तै सव डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख सहायक वन अधिकृत रामदेव चौधरीले उपभोक्ता र वन कर्मचारी बीचको मेलमिलाप तथा समधुर वातावरणबाट मात्र वन संरक्षण कार्य सम्भव रहेको बताए । उनले भने हामीले नङ मासुको सम्बन्ध राखेर काम गर्नैपर्छ तबमात्र सफलता हासील गर्नेछौ ।
म्याद पुगी सकेका वा पुग्न लागेका सामुदायिक वनका कार्ययोजना नविकरण एवं नियमानुसार वनस्रोत सर्वेक्षण गर्न सहयोग पुर्याइदिने उनले थपे । पौडाहा देउराली सामुदायिक वन समूहका अध्यक्ष डम्बर राईले पहिलाको तुलनामा अहिले वन संरक्षण तथा सम्वर्धन कार्यमा केहि फितलोपन आउनुमा नेपाल सरकारको पनि कमजोरी रहेको दावी गरे । उनले भने, सरकारले वन विनासको कुरालाई लिइएर वनपैदावार निकासी पैठारी तथा संकलनमा रोक लगाएपछि उपभोक्ताहरु विरक्तिए । अनी संरक्षण सम्वर्धन कार्य फितलो बन्दै गयो, जताततै चोरी तथा अवैध निकासी बढ्दै गएको हो । बर्षेनी वनभित्र सुखड, ढलापडा काठहरु आगोले खाने र चोकरी निकासी हुने प्रकोपले आम्दानी पनि भएन, उपयोग पनि भएन ।
यस्तै खोलाको मापदण्ड मापन नगरी वालुवा, गिटी र ढुंगा ओसार पसार भइरहँदा चरे दोहन भइृ विनासक्रम बढेको सुन्दरी सामुदायिक वनका अध्यक्ष ओम प्रमानी गुनासो गरे ।
चुरे संरक्षणमा दुवै तर्फको भुमिका वारे प्रष्ट्याउदै निकुरी टिकुरीका अध्यक्ष, निकुरी हातीलेडका पूर्व अध्यक्ष मधेलालका अध्यक्ष क्रमश देब नारायण श्रेष्ठ, विधानन्द महत्तो, बुधेश्वर माझी लगायतले बोलेका थिए ।
चुरे संरक्षणका लागि एकजुट हुने प्रतिवद्वता गर्दै कार्यक्रममा सल्लाह, सुझाव आदान प्रदान समेत साटासाट गरिएको थियो । निकुरी टिकुरी सामुदायिक वन उपभोक्ता समूहका सचिव हरी प्रसाद भट्टराईको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा निकुरी हात्तीलेढले सव डिभिजन कार्यालयमा सहयोग गरेको भन्दै अध्यक्ष मञ्जु कार्कीलाई अधिकृत साहले दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page