समाचार

मौलिक हकको कार्यान्वयनका लागि समुदाय सचेत र जिम्मेवार निकाय जबाफदेही बन्नु पर्ने

राजविराज, २९ जेठ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा शनिबार राजविराज नगरपालिकामा मानव अधिकार प्रवर्धन अभियानअन्तर्गत अन्तरक्रिया तथा ¥यालीको आयोजना गरिएको थियो ।
सामुदायिक सेवा केन्द्र, महिला मानवअधिकार रक्षक संजाल, नगर स्तरीय मानवअधिकार निगरानी समूह र बालअधिकार सचेतना समूहको समन्वय तथा सहकार्यमा मानव अधिकार प्रवर्धन अभियानअन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रममा बोल्दै इन्सेक सदस्य बैद्यनाथ झाले बढी भन्दा बढी नागरिकले मानव अधिकार बारे जानकारी प्राप्त गरेमा मात्र मानव अधिकार संरक्षण, सम्बद्र्धन र परिपुर्तिका लागि राज्यलाई जवाफदेही बनाउन सकिने बताए । व्याप्त बिकृति अन्त्यको लामो लडाईमा नागरिकले सामुहिक रुपमा निरन्तर आवाज उठाइरहे सफलता प्राप्त हुने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा इन्सेक सप्तरीका प्रतिनिधी मनोहरकुमार पोखरेलले मानव अधिकारको संरक्षण, सम्बद्र्धन र प्रवर्धन गर्ने जिम्मेवारी सबैको भएको बताए । संविधान प्रदत्त मौलिक हकको कार्यान्वयनका लागि स्थानीय समुदाय सचेत र जिम्मेवार निकाय जबाफदेही बन्नु पर्र्नेमा उनेले जोड दिए । पोखरेलले कर्तव्य निर्वाह गर्दै अधिकारको प्रयोग गर्ने र अरुको अधिकार हनन नगर्ने बानीले मानव अधिकारको संरक्षण हुँदै प्रवर्धन हुन सक्ने बताए ।

राजविराज नगरपालिका कार्यपालिका सदस्य ललिता कर्णले राज्यले मानव अधिकारको सुनिश्चितताको लागि तय गरेको नीति एवम् योजना कार्यान्वयनमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । विद्यमान समस्याहरूको समाधानका लागि निरीक्षण, अनुगमन गरी सेवा प्रदायक निकायहरूलाई उत्तरदायी बनाउने समेत उनले बताइन् ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासले मानव जीवनको आधारभूत अधिकारका लागि स्थानिय समुदाय, नागरिकहरू एकताबद्ध भई सरोकारवाला समक्ष अधिकारको मागदावी गर्नु पर्ने बताए ।
बाल अधिकार चेतना समूहकी खुश्बु रजकले पठनपाठन सुरु भएपनि पाठ्य पुस्तक उपलब्ध नभएको, विषयगत शिक्षकहरूको अभाव रहेको, परीक्षा अगावै पाठ्यक्रम नसकिने र ट्युशन पढनै पर्ने वाध्यता रहेको गुनासो गरिन् ।

नगर स्तरीय मानव अधिकार निगरानी समुहका अध्यक्ष रघुबर साहको अध्यक्षता तथा प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झाको प्रमुख अतिथिमा आयोजित कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीकी अध्यक्ष अनीता देवकोटा, प्याब्सनका सचिव संजय शर्मा, इन्सेकका सहजकर्ता दिपक यादव , अभिभावक राजकुमार लाल दास लगायतकाले आ–आफ्नो धारणा राखेका थिए ।
सम्पन्न अन्तरकृया पश्चात जनचेतनामुलक सन्देशसहितको प्लेकार्ड बोकेका सहभागीहरूले नगरपालिकाबाट राजविराजको विभिन्न भाग हुँदै नारा लगाएर ¥याली प्रदर्शन गरेका थिए ।
कार्यक्रमको सञ्चालन निगरानी समुहका सचिव दिनानाथ यादवले गरेका थिए भने कार्यक्रममा दिपक यादवले स्वागत गरेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page