उत्तम आचार्य /
कञ्चनरुप, १ अषाढ । समुन्नत समाज निर्माणका लागि शिक्षा क्षेत्रको विकास महत्त्वपूर्ण रहेकाले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने वक्ताहरुले बताएका छन् ।
बुधवार शंकर माध्यमिक विद्यालय कञ्चनरुप १२ रुपनगरमा विद्यालय व्यवस्थापन समिति चयनका लागि बोलाइएको अभिभावक भेलामा वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीले सो कुरा बताउनु भएको हो ।
उहाँले व्यवस्थापन समिति चयन सर्वसम्मत रुपमा भएमा राम्रो हुने बताउँदै गरीब विपन्न वर्गका विद्यार्थीहरुलाई उच्च शिक्षासम्म अध्ययन गर्न अब बाहिर जानु नपर्ने कुरा बताउनु भयो । शंकर माध्यमिक विद्यालय सँगै उत्तरपट्टि रुपनगर नन्दराज संग्रौला क्याम्पस स्थापना हुनुले पनि यस भेगको शिक्षा क्षेत्रमा ठुलो उपलब्धी भएको बताउनु भयो ।
शिक्षा शाखाका संयोजक ललित नारायण यादवले विद्यालय व्यवस्थापन समिति चयन सर्वसम्मत रुपमा भएमा विद्यालयलाई राम्रो हुने बताउनु भयो ।
वडा नम्बर ९ का वडा अध्यक्ष रामसुन्दर यादव, सर्वोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक ताराकान्त मल्लिक, राष्ट्रिय माध्यमिक विद्यालय बनरैत टोलका प्रधानाध्यापक कृष्ण यादव लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक गंगाप्रसाद साहले गर्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिमा ४ जना चयन गर्नुपर्नेमा ४७ जनाले नाम दर्ता गराएपछि सर्वसम्मत हुन सकेन । सर्वसम्मतका लागि सूचना प्रकाशित गरी अर्को दिन पुन : अभिभावक भेला बोलाउने विद्यालयले जनाएको छ ।
शिक्षक प्रमोद कटुवालद्वारा संचालित कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष लक्ष्मण यादवले गर्नु भएको थियो ।
Add Comment