कञ्चनरुप, १० असार । सप्तरीको खडक नगरपालिकाले आज (शुक्रबार) ११ औँ नगर सभा सम्पन्न गरेको छ ।
आ.व. २०७९/८० का लागि नगरपालिकाले कुल ८३ करोड ५८ लाख ४१ हजारको बजेट विनियोजन गरेको छ । संघीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, सामाजिक सुरक्षा र आन्तरिक श्रोत गरी सो रकम विनियोजन गरेको हो ।
प्रस्तुत बजेटमा आन्तरिक आयतर्फ १ करोड ४० लाख, नेपाल सरकारबाट प्राप्त वित्तीय समाणीकरणतर्फ १५ करोड १ लाख, स–सर्त अनुदानतर्फ २७ करोड ६२ लाख, राजश्व वाडफाडतर्फ ११ करोड ४८ लाख ७९ हजार रहेको छ ।
त्यस्तै प्रदेश सरकार वित्तीय समाणीकरण ९१ लाख ६२ हजार र सवारी साधन करबाट ७० लाख, संघीय सरकारबाट बिशेष अनुदान १ करोड, समपुरक अनुदानबाट १ करोड ७५ लाख बजेटमा रहेको छ । प्रदेश सरकार बिशेष अनुदान तर्फ ३० लाख र समपूरक अनुदानतर्फ २० लाख प्रदेशबाट प्राप्त हुने अनुमान गरेको छ ।
सभाले सामुदायिक विद्यालयमा निशुल्क पोशाक, गर्भवती महिलाई निःशुल्क भिडियो एक्सरे, विद्यालय र स्वास्थ्य केन्द्रमा सिसि क्यामरा जडान गरी नगरपालिकाबाट निगरानी गरिने ,एक वडा एक नमूना विद्यालय छनोट गरी एक सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने, प्राङ्गारिक मलको उद्योग स्थापना गर्ने जस्ता योजना अघि सारेको छ ।
नीति तथा कार्यक्रम उपमेयर रिता कुमारी चौधरीले प्रस्तुत गर्नुभएको थियो भने नगर प्रमुख जयप्रकाश चौधरीले बजेट बारे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
Add Comment