उत्तम आचार्य /
कञ्चनरुप, ११ असार । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ स्थित रहेको धर्मेश्वर अस्पताल प्रालीले नेपाल सरकारबाट अनुमति प्राप्त गरी आमा सुरक्षा कार्यक्रम सञ्चालन गरेको छ ।
शनिवार अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा आमा सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याइएको र यस कार्यक्रमले सुत्केरी महिला र नवजात शिशुको सुरक्षार्थ अस्पतालले २५ शै्ययाको सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
गर्भावस्थामा स्वास्थ्य परीक्षणको अभावमा आमा र शिशुको स्वास्थ्यमा हुन सक्ने जटिलता कम गर्दै सुरक्षित मातृत्व निश्चित गर्न यो कार्यक्रम सञ्चालन गरिएको डा. दिलिप कर्णले जानकारी दिए ।
मातृशिशु मृत्यु दर न्यून गर्ने नेपाल सरकारको महत्वाकाँक्षी र महत्वपूर्ण लक्ष्य अनुसार निजी अस्पतालले ‘आमा सुरक्षा कार्यक्रम’ संचालन गर्न पाएकोले यसलाई आफूहरुले सामाजिक दायित्व सरह प्रभावकारी रुपमा लागु गर्न उत्साहित रहेको डा. कर्णले बताए।
यो कार्यक्रम अन्तर्गत गर्भवती महिलाले गर्भावस्थामा कम्तीमा ४ पटक आफ्नो स्वास्थ्य परीक्षण गराई सुरक्षित प्रसुति सेवा लिन सक्ने अस्पतालले बताएको छ । आमा र शिशुको स्वास्थ्यको उचित हेरचाह गर्दै सुरक्षित मातृत्व ग्यारेन्टी गर्न यो कार्यक्रमको निर्देशिका अनुसारका सेवाहरू निःशुल्क हुने र यसबाट गर्भवती महिला, सुत्केरी र शिशुको स्वास्थ्यमा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण भई आमा र बच्चाको असल स्वास्थ्यको ग्यारेन्टी हुने अस्पतालले जनाएको छ ।
सो कार्यका लागि अस्पतालमा दैनिक दुई महिला विशेषज्ञले सेवा प्रदान गर्ने र नवजात शिशुका लागि एक जना बालरोग विशेषज्ञले नियमित सेवा उपलब्ध गराउने अस्पतालका डा.कर्णले बताउनुभयो ।
महिलारोग विशेषज्ञ मुन्जल यादवले गर्भवती महिलाले चार पटकसम्म नियमित स्वास्थ्य जाँच गराए रु आठ सय थप रकम दिने र कार्यक्रम लागू भएपछि अस्पतालमा शिशु जन्मिए सरकारमार्फत यातायात खर्च एक हजार समेत प्रदान गर्ने जानकारी दिनुभायो ।
धर्मेश्वर अस्पतालले नेलाल सरकारद्वारा सञ्चालित आमा सुरक्षा कार्यक्रम ल्याई नगरपालिकामा फड्र्को मारेको र मेरो सोच कागजमा मात्र सिमित नरही काम र कर्तव्यले पुरा गरेर देखाउने कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले बताएका छन । कार्यक्रमको समुदघाटन समारोहमा बोल्दै नगर प्रमुख गुप्ताले सो कुरा बताएका हुन् ।
कञ्चनरुप नगरपालिकाका भित्रका दलित विपन्न समुदाय विरामी भई धरान ,विराटनगर जाने बताउँदै उनीहरुको राम्रो उपचार र सस्तोमा सेवा सुविधा गरिदिन सहभागी विरानगर, धरानका डाक्टरहरु संग आग्रह गरेका थिए ।
कार्यक्रममा उप प्रमुख मुना कुमारी पोखरेल, केन्द्रिय कारागार अस्पतालका प्रमुख डा. प्रकाश प्रसाद साह, हाडजोर्नी डा. धिरज सिंह, कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा जन स्वास्थ्य अधिकृत रामसेवक यादव, स्वास्थ्य शाखाका उप प्रमुख डम्वर गुप्ता, पहेन अधिकृत अम्विका ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो कार्यक्रममा विभिन्न व्यक्तित्त्वहरुलाई सम्मान तथा मायाको चिनो समेत प्रदान गरिएको थियो । स्वागत मन्तव्य डा. मदन श्रेष्ठले गरेका थिए भने कार्यक्रम सञ्चालन सञ्चारकर्मी उत्तम आचार्यले गरेका थिए । धर्मेश्वर अस्पतालका प्रशासक डा. दिलिप कर्णको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
नेपालमा संस्थागत प्रसूति दरमा सुधार ल्याई मातृ मृत्युदरमा कमी ल्याउन र संस्थागत प्रसूतिको सहस्राब्दी विकास लक्ष्यको धेरै नजीक पुग्न आमा सुरक्षा कार्यक्रमको भूमिका रहेको छ ।
सरकारले २०६५ सालमा ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम कार्यविधि निर्देशिका’ जारी गरेर मातृ मृत्युदर कम गर्नका लागि कार्यक्रम लागू गरेको हो । आमा सुरक्षा कार्यक्रमबापत सुत्केरी खर्च सरकारले व्यहोर्ने गर्दछ । मातृमृत्यु अनुपात कम गराउनका लागि आमा सुरक्षा कार्यक्रम शुरु गरिएको हो ।
Add Comment